राजनीति

रविको बेन्चमा चर्काचर्की, थुनाउने र छुटाउनेबीचकै लडाईं


सहकारी ठगी प्रकरणमा पाँच जिल्ला परिक्रमा गर्नुपर्ने बाध्यतामा रहेका रवि लामिछानेको रुपन्देहीमा थुनछेक बहस जारी छ । यद्यपि, अदालतको आदेशका कारण हिरासतमा बस्न नपर्दा प्रश्नको घेरामासमेत छ । यसपछि पर्सा र चितवन बाँकी नै रहँदा कंस्तो हुदै छ त वुटवलको घटनाक्रम?

कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख धरौटीमा छुटेका रवि लामिछानेका लागि रुपन्देही तेस्रो जिल्ला हो । जहाँ बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोप उनीमाथि छ । घटनाक्रम अनुसार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतवार मुद्दा दर्ता गरेको होे। जसमा लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र सुरुको मुद्दाका २८ जनासहित ४२ जनालाई अभियुक्त बनाइएको छ ।

जहाँअदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ। यता लामिछानेको सन्दर्भमा उनी मङ्गलवार रूपन्देही पुगेपनि बुधवारमात्र अदालतमा उपस्थित भएका थिए।त्यस्तै अदालतले बुधवार नै लामिछानेको बयान लिएको भएपनि यसदिनथुनछेक बहस भने हुन सकेन । फलतः उनी न्यायिक हिरासतमा जाने धेरैको अनुमान थियो ।

तर त्यसको विरुद्ध थुनछेक आदेश दिन नभ्याइएको भन्दै अदालतले लामिछानेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो।जवकि यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्की ८४ दिन हिरासत बसेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतले हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो ।

शर्त अनुसार नै विहिवार लामिछाने अदालतमा उपस्थित भएपनि थुनछेक बहस सुरु भए लगत्तै सरकारी र सहकारी पीडितको पक्षबाट बहस गरेका वकिलहरूले न्यायाधीश प्रह्लादकुमार योगीको निष्पक्षतामाथि प्रश्न उठाएका थिए । पहिलो दिनमै न्यायाधीशले न्यायिक हिरासतमा नपठाई परिवारको जिम्मा लगाएको भन्दै योगीले बिहीबारको थुनछेकको बहस हेर्न नहुने उनीहरुको माग थियो ।


तर न्यायाधीशले माग स्वीकार नगरी इजलासमा बसेपछि बहस अगाडि बढ्यो।सरकारी वकिल ३ जना सहित जिल्ला रुपन्देहीका ५ जना गरी ८ जनाले रविलाई थुना पठाउनुपर्ने पेश गरेका थिए । उनीहरुले वहसका क्रममा रवि आफैले ऋण लिएको र आफैले किस्ता तिरेको आफ्नै हस्ताक्षर भएको स्वीकारेको लगायतका तथ्य देखाएर उनलाई पुर्पक्षका लागि थुना पठाउन माग गरेका थिए ।

विहीवारको वहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी चर्को रुपमा प्रस्तुत भएका थिए । जाहेरीकर्ताका पक्षबाट बहसमा भाग लिएका उनले लामिछानेलाई थुनामा पठाउनुपर्ने माग गरेका थिए । सहकारी प्रकरणलाई राजनीतिको अपराधीकरण र ‘स्मार्ट ठगी’ को संज्ञा दिएका उनले आफूमाथि भएको हातपातको प्रसंग पनि निकाल्न भ्याए । रास्वपा कार्यकर्तातर्फ ईंगित गर्दै उनले न्यायिक प्रक्रियामा बाधा पुर्याउने काम भइरहेको आरोप लगाए ।

आफूमाथि हातपात भएको घटनामा काठमाडौं जिल्ला अदालत नबोलेको भन्दै त्रिपाठीले गुनासो गर्दारविको थुनछेक वहस बिहीबार पनि सकिएन भने उनी पुनः हाजिर जमानीमा रिहा भए । यसले बहस लम्बिएपनि रविलाई असर नगर्ने अवस्था बन्दा शुक्रबार रविका अधिवक्ताहरुले वहस गरेका थिए ।


वरिष्ठ अधिवक्ता सुशील पन्तसहित आधा दर्जन बढि अधिवक्ताले रविका पक्षबाट बहस गर्दैछन् । जसमध्ये शुक्रबारवरिष्ठ अधिवक्ता सुशिल पन्त, सुरेन्द्र थापा र सञ्जय गोलेले बहस गरेका हुन्। तीन जनाले बहस गरेको भए पनि रविकै पक्षबाट आइतबार थप वकिलहरूले बहस गर्ने तयारी छ।कास्की र काठमाडौँमा उनको पक्षमा बहस गरेका रमण श्रेष्ठ अनुस्थित हुँदा पीडित पक्षमा भने नयाँ अधिवक्ताहरुसमेत थपिएका थिए ।

जवाफी बहसका क्रममा रविले गोर्खा मिडियालाई सहकारीको रकम अपचलनकै लागि स्थापना गरिएकोसम्म दाबी गर्न भ्याएका थिए । तर थुनछेक वहस नसकिदा रवि पुन हाजिरी जमानीमै छुटेका छन् ।

सहकारी प्रकरणकै बाछिटा स्वरुपवरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ भने हदैसम्मको सजाय माग गरिएको छ । आक्रमणको विषयमा मिडियामा बोल्ने क्रममा न्यायाधीशविरुद्ध समेत प्रश्न उठाउने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उदयपुरका दिलबहादुर राईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् । यता रविको पनि सकस सकिहालेको छैन । सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेपछि चितवन प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सरकारी वकिलको कार्यालयले आउँदो साताभित्र लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ । यता पर्सामा भने अनुसन्धान जारी रहेको भन्दै मुद्दा दर्तामा केही समय लाग्ने बताइएको छ ।