अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जनवरी सात तारिखदेखि सुरु भएको आगलागीमा परी हालसम्म २४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । अझ तीव्र गतिको आँधी “स्यान्टा एना विन्ड्स“ चल्न सक्ने पूर्वानुमानले आगलागी झनै तीव्र रुपमा फैलिन सक्ने भय बढेको छ । तुलनात्मक रुपमा मानवीय क्षति कम भए पनि भौतिक क्षति र पीडितहरुले भोग्नु परेको कारुणिक दृश्य अत्यास लाग्दो छ ।
एकसातादेखि अमेरिकाको लस एन्जलस क्षेत्र जलिरहेको छ । जनवरी ७ मा लस एन्जलसको प्यालिसेड्स इटन र हस्ट क्षेत्रमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन हजारौं अग्नि नियन्त्रकका साथै वारुणयन्त्र र विमानहरु परिचालन गरिएको छ । छिमेकी मुलुक क्यानडा, मेक्सिकोलगायतका देशहरुलेसमेत सहयोग गरिरहेका छन् । तर आगो नियन्त्रणमा आउने कुनै छाँटकाँट देखिएको छैन । भीषण आगलागीमा परि हालसम्म २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
आगलागीबाट अर्बौं डलरको क्षति भएको उल्लेख गरिएको छ । यद्यपि, यकिन विवरण भने अझै आउन सकेको छैन । आगलागीमा परि झन्डै दुई लाख नागरिक सो क्षेत्रबाट विस्थापित भएका छन् । सबथोक जलेर खरानी भएपछि आगो निभेका स्थलहरुमा पुगेका पीडितको हृदयविदारक दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
आगो कसरी सुरु भयो भन्ने विषयमा अझै अनुसन्धान जारी रहेको जनाइएको छ । अधिकांश घर काठले बनेको, लामो समयदेखि वर्षा नभएकाले खडेरी देखिएको र तीव्र गतिको हावाहुरीका कारण आगो अनियन्त्रित भएर फैलिएको बताइएको छ ।
लामो समयदेखि वर्षा नहुँदा खडेरीले आगलागी थप भयावह भएको अनुमान भइरहँदा अझ तीव्र गतिको आँधी “स्यान्टा एना विन्ड्स“ चल्न सक्ने पूर्वानुमानले थप चुनौतीको सामना गर्नु पर्ने अवस्था आएको छ । जसका कारण अझै केही दिन आगलागी थप तीव्र रुपमा फैलिन सक्ने भय बढेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले आगलागीबाट घर जलेका पीडितलाई प्रति घर ७ सय ७० डलर दिने घोषणा गरिसकेका छन् । न्यूयोर्कपछि अमेरिकाकै सबैभन्दा बढी जनघनत्व भएको दोस्रो सहर तथा हलिउड सेलेब्रेटीहरुको बसोबासका कारण पनि लस एन्जलस विश्वकै चर्चित सहरमध्येमा पर्दछ ।
जसले गर्दा यो आगलागीले विश्व समुदायको ध्यानाकर्षणसमेत गरिरहेको छ । यस क्षेत्रमा भइरहेको आगलागी नियन्त्रणका लागि विभिन्न प्रयासहरु भइरहेका छन् । यसबीचमा लिडिया, केनेथ र आर्चर क्षेत्र तथा हलिउड हिल्समा लागेको आगो भने नियन्त्रणमा आइसकेको छ । यद्यपि, अमेरिकाको इतिहासमै यति ठूलो आगलागी र क्षतिले भने सम्पूर्ण अमेरिकीबासीलाई नै स्तब्द बनाएको छ ।
प्रतिक्रिया