राजनीति

ओलीसँग लड्नेहरु अफ्ठ्यारोमा, माधव र प्रचण्ड नै मिल्न सकेनन्

योहो संवाददाता

नेपालका कम्युनिस्ट नेताहरु विचार, सिद्धान्त, रणनीति र कार्यनीतिभन्दा सत्ता र शक्ति स्वार्थमा लिप्त छन् । केही नेता–समूहको सत्ता स्वार्थको सिकार बन्दा सिंगो कम्युनिस्ट शक्ति छिन्नभिन्न भइरहेको छ । नेकपा विभाजन यता गुटको टुटफुट र विभाजनको शृङखला थप झाँगिदो छ । नेतृत्वको प्रवृत्तिविरुद्ध विद्रोह गरेर आ–आफ्नो दोकान खोलेका उनीहरु न त राम्रोसँग चल्न सकेका छन् न त मिल्न नै ।

२०७५ जेठ ३ गते अप्रत्यासित रुपमा पार्टी एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा घोषणा भएपछि लगभग तीन वर्ष एउटै पार्टीको झण्डा मुनि बसेका केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल हुँदै भीम रावलसम्मले आ–आफ्नै पार्टी र समूह निर्माण गर्न भ्याइ सकेका छन् । नेकपा विभाजनपछि ओली र प्रचण्ड पुरानै अवस्थाको एमाले र माओवादीको नेतृत्वमा छन् भने एमालेबाट चोटिएर नेपालले एकीकृत समाजवादी गठन गरे । अहिले एमालेबाट निष्कासित रावलसमेत नयाँ पार्टी खोल्ने तयारी स्वरुप देश दौडाहाको अभियानमा जुटेका छन् ।

विचार सिद्धान्त मिले पनि सत्ता संघर्ष र राजनीतिक स्वार्थ बाझिएपछि तत्कालीन नेकपामा रहेकाहरुको ओलीसँगको उकुसमुकस सह–यात्रा विद्रोहमा परिणत भयो । ओलीविरुद्ध माधव–प्रचण्ड सडकमै उत्रिएपछि देशकै ठूलो शक्ति बनेको नेकपामा फुट आएको थियो । नेताहरुको व्यक्तिगत स्वार्थ र टकरावले साढे तीन वर्षमै अलग भए । प्रचण्ड पुरानै माओवादी केन्द्र बनाउन लागे भने माधवले नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरे । तर माओवादीका रामबहादुर थापा बादलदेखि दश भाइको समूह भताभुङग पारेर फर्किएकाहरु एमालेमै रहेर ओलीको लपेटाइ र उकुसमुकुस सहेरै पार्टीमा टिकी रहेका छन् ।

ओलीबाट अलग भएकाहरुले यो अवधिमा ओली बाहेकको कम्युनिस्ट कित्तालाई एकढिक्का बनाउने पटक पटक प्रयास गरे । तर ओली तह लगाउन एक भएकाहरु आफैँ एक हुन असफल छन् । माधव–प्रचण्ड, उपेन्द्र यादवदेखि विप्लवसम्म समाजवादी मोर्चा घोषणा गरेर अघि बढे । तर अहिले समाजवादी मोर्चाको अत्तोपत्तो छैन । प्रचण्ड र माधवबीच बोलचाल नै बन्दको अवस्था छ । ओली बाहेकका कम्युनिस्ट एकता गर्ने हुँकार गरेकाहरु अहिले एकतालाई बाइपास गरेर आ–आफ्नो नेता–कार्यकर्ता तानातानमा उत्रिएका छन् ।

अरु कम्युनिस्ट पार्टीबाट नेता कार्यकर्ता माओवादीमा भित्र्याउन प्रचण्डले अफर नै चलाएका छन् । प्रचण्डसँगको पार्टी एकता अलपत्र परेपछि अहिले माधव वरिष्ठ कम्युनिस्ट नेता वामदेव गौतमलाई भित्र्याएर पार्टीको ओझ बढाउने दाउमा छन् । कार्यकर्ता र संगठविहीन तथा लगभग राजनीतिक जीवनको उत्तरार्धमा रहेका वामदेव माधवले बोक्ने भएपछि एकीकृत समाजवादीमा मिसिन खुट्टा उचालेर बसेका छन् ।

पार्टी अध्यक्ष ओलीको विरोध गरेकै कारण पार्टीबाट निष्कासित भीम रावल अहिले दोबाटोमा अलमल अवस्थामा छन् । तत्कालको अवस्थामा ओलीलाई गाली गर्ने बाहेक उनीसँग अरु विकल्प छैन । रावल इच्छुक हुने हो भने ओली विरोधी आकार बढाउनै भए पनि उनलाई पार्टीमा स्वागत गर्न माधव तयारी अवस्थामा छन् । तर रावल अरुलाई नेता मानेर पार्टी प्रवेश गर्नेभन्दा पनि आफैँ नेता बन्न छुट्टै पार्टी खोल्ने योजना बुनिरहेका छन् । गैरकम्युनिस्ट र राष्ट्रवादी धार समात्ने दाउ उनको छ । ओलीको विरोध गरेर नथाक्ने तर ओलीविरुद्ध एकढिक्का हुनुभन्दा पनि आ–आफ्नै दोकान खोल्ने होडबाजी नेपाली कम्युनिस्ट नेताहरुको पुरानै प्रवत्ति मान्नु पर्छ ।

तर, अन्तर पार्टी संघर्ष छोडेर आफ्नै दोकान थापेकाहरु कसैको पनि फलिफाप हुन सकेको देखिँदैन । जुन प्रवृत्ति कम्युनिस्ट क्षयीकरणको जड बन्दै आएको छ ।


नाममा कम्युनिस्ट नभइ नहुने तर व्यवहारमा कम्युनिस्ट बन्नै नचाहने नेताहरुको चरित्र र वामपन्थी विचारधाराको नारा उनीहरु स्वयम्का लागि प्रत्युत्पादक बन्ने गरेको छ । गुटगत फुट र विभाजनको श्रृंखलाले बद्नाम बन्दा पनि यो श्रृंखला झनै फस्टाउनु आफैँमा विरोधाभास देखिन्छ भने कम्युनिस्ट पार्टीप्रतिको जनमत गुम्ने खतरा तीव्र बन्दै गएको छ ।