सरकार बनेकै दिनदेखि प्रधानमन्त्री र मन्त्रीहरुलाई सरकार नढल्ने स्पष्टीकरण दिन भ्याइ नभ्याइ छ । यही बीचमा भारतीय गुप्तचर संस्था ‘रअ’का एक पूर्व प्रमुखले एक महिनाभित्र नेपालमा सरकार फेरिने दाबी गरेका छन् । यो एक महिना यस्तो समय हो–जुन समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीसमेत हुँदैछ ।
भूराजनीतिले जकडेको नेपालमा आन्तरिकभन्दा बढी बाह्य शक्तिले खेल्ने ठाउँ हरेक पटक बन्ने गरेको छ । नेपालमा बन्ने सरकार छिमेकी भारत र चीनमध्ये कुनै एकको निकट हुनैपर्ने अवस्था परम्परा जस्तै बन्दै गएको छ । भारत र चिनियाँ कार्डबारे जिम्मेवार नेताहरुले नै दिएको अभिव्यक्तिले समेत यसलाई पुष्टि गरिरहेको हुन्छ । यद्यपि, कांग्रेस–एमाले नेतृत्वको शक्तिशाली सरकारलेसमेत यही हविगत भोग्नुपरेको छ । भारत भ्रमण नगरे सरकार ढल्छ भन्ने भाष्य विगत दुई दशकदेखि बनिरहेका समय प्रधानमन्त्री केपी शर्मा ओलीले केही साता अघि चीनको भ्रमण गरे ।
पहिले चीन भ्रमण गरेपछि स्वयं ओली र मन्त्रीहरु नै शशंकित थिए । यही कारण उनीहरुले लगत्तै भारतको पनि भ्रमण गर्ने भन्दै आस्वस्त पार्न खोजिरहेका थिए । तर, भ्रमण सफलतापूर्वक सम्पन्न हुनु तथा असन्तुष्टिका बाबजुद पनि बीआरआईको क्लेश सकिएपछि सरकार नढल्ने स्पष्ट भएको छ । केही दिनअघि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेण्ट लक्की विष्टले ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् । नवभारत टाइम्ससँगको अन्तर्वार्तामा उनले समय नै तोकेर एक महिनाभित्र सरकार ढलेको खबर सुने अनौठो नमान्न भनेका छन् । यसको पछाडि कसको हात छ भन्ने पत्रकारको प्रश्नमा विष्टले नेपाल लगायत श्रीलंका, पाकिस्तान र बंगलादेशको पछिल्लो घटनाक्रममा गुप्चतर एजेन्सीको हात रहेको दाबी गरे ।
लक्की विष्ट उनै व्यक्ति हुन् जसले आफूलाई ‘रअ’ को एजेन्ट हुँदा नेपाल र बंगलादेशमा अपरेसन गरेको दाबी गरेका थिए । विष्टले केही समयअघि मात्र राज शामानीसँगको एक अन्तर्वार्तामा नाम नलिई नेपालका सञ्चार उद्यमी जमिम शाहको हत्या आफूले गरेको दाबी गरेका थिए । अहिलेको नयाँ अन्तर्वार्तामा उनले नेपाल विश्वभरका गुप्तचर एजेन्सीको खेल्ने ठाउँ भएकोसमेत दाबी गरेका छन् । अर्थात, नेपालको सरकार बनाउने र ढाल्ने खेलमा विदेशी एजेण्टको सक्रियतालाई स्वयं पूर्व एजेण्टले स्वीकारेका छन् ।
विष्टले दिएको एक महिनाको समय यस्तो हो जुन समयमै प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी हुँदैछ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा केही दिनमै दिल्ली जाँदैछिन् । सम्भवतः पुसको अन्तिम साता ओलीको भारत भ्रमणको तयारी छ । ओलीलाई भारतले विश्वास गर्न नसकिरहेको समय भारत भ्रमणपछि सम्बन्ध सुध्रन्छ वा स्थिर रहन्छ भन्ने कुराले समेत धेरै अर्थ राख्नेछ । यता मन्त्रीहरुले समेत सरकारको आयुमा शंका नगर्न आग्रह गरिरहेका छन् । गृहमन्त्री रमेश लेखक केही दिनयता सहभागी भइरहेका हरेक कार्यक्रममा सरकार तलमाथि नहुने स्पष्टीकरण दिँदै हिँडेका छन् ।
संक्रमणकालीन न्याय टुंगोमा पु¥याउने गरी कानुन बने पनि पदाधिकारी नियुक्तिदेखि अन्य पक्रियामा सरकार अल्झिएको देखिन्छ । १८ वर्षदेखि सरकार फेर्ने अस्त्र बनेको टीआरसी फेरि किन अलमलमा पर्दैछ भन्ने प्रश्न जन्मिएको छ । यसबाहेक प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने चाहना गरेका छन् । तर, यो सफल हुन सकिरहेको छैन । यतिमात्र नभई केही दिनअघि अमेरिकी विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग भेट नहुनुलाई समेत संशयको दृष्टिले हेरिएको थियो । आगामी जनवरी २० मा अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । ट्रम्प नेतृत्वको सरकारमा रहने विदेशमन्त्रीले नेपाल हेर्ने नजरले समेत सरकारलाई थोरैधेरै असर पार्नसक्ने देखिन्छ । तर, देउवा र ओलीबीच खटपट नभएसम्म कुनै किसिमका हल्लाले सरकार ढाल्न नसक्ने विश्लेषकहरुको बुझाइ छ ।
हुन त ओलीले प्रधानमन्त्री बनेयता सात पटकसम्म शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने मितिसहितको प्रतिबद्धता गरिसकेका छन् । उनले भनेजस्तो अस्थिरता चाहनेले सरकार ढाल्ने हल्ला चलाएको नभइ सरकार ढाल्न चाहनेहरुलाई उनी स्वयंले नै मौका दिइरहेका छन् । पहिलो भ्रमण भारतबाटै गर्न खोजे पनि निम्तो नपाएका ओली र सहयात्री देउवाले आरजुको भारत भ्रमणको सन्देश कुरेको पनि हुनसक्छ ।
प्रतिक्रिया