Breaking

पूर्वमन्त्री अधिकारीविरुद्ध रिट सर्वाेच्चबाट दरपिठ


काठमाडौं । कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मानव बेचबिखन मुद्दा नचलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिट सर्वोच्च अदालतले दरपिठ गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा आज निर्णय गर्दै सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेका हुन् ।

त्रिपाठीले शुक्रवार सर्वोच्चमा रिट पेस गरेका थिए । पूर्वमन्त्रीलाई जापानी अध्यागमनबाट फर्केपछि प्रहरीले मानव तस्करीमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि मन्त्री अधिकारीलाई पनि हिरासतमा लिइएको थियो । तर जिल्ला सरकारी वकिलको कार्यालयले केही दिन अघि जिल्ला अदालतमा मुद्दा दायर गर्दा मन्त्रीलाई विभिन्न नौ आधार देखाउँदै मुद्दा नचल्ने निर्णय गरेको थियो ।

आदेशमा मुुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपिठ गरिएको दाबी गरिएको छ। सर्वोच्च प्रशासनले दरपिठ गरेपछि त्यसविरुद्ध इजलासमा निवेदन दिने तयारी अधिवक्ता त्रिपाठीले गरेका छन् । यदि इजलासले दरपिठ बदर गरेमा पुनः मुद्दा दर्ता हुने छ ।