Breaking

१९ खर्ब अनुमानको बजेट किन घट्यो ? ऋण खोज्दै सरकार, विज्ञ के भन्छन् ?


काठमाडौँ— आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बजेटलाई लिएर विभिन्न क्षेत्रका मानिसहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री वर्षमान पुनले भने निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्ने गरी बजेट ल्याएको दाबी गरेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रसँग मिलेर आर्थिक विकास गर्नेगरी बजेट ल्याएको दाबी गरेका छन् ।संघीय संसदमा पेस गरेको बजेटका विषयमा बुधवार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पुनलेसरकार एक्लैले सबै काम गर्न नसक्ने भएकालेनिजी क्षेत्रलाई साथमा लिएर आत्मबल वृद्धि गर्नेगरी बजेट आएको बताए । उनले सरकारले निजी क्षेत्रलाई साथमा लिएर मात्रै अबको आर्थिक विकासमा अगाडि बढ्ने बजेटको कार्यदिशा रहेको बताए । उनले सडक, पूर्वाधार, पुलसहितको पूर्वाधार विकासमा राज्य एक्लैले खर्च गर्न नसक्ने भन्दै अर्थतन्त्रमा ८० प्रतिशत योगादन दिने निजी क्षेत्रसँग सहकार्य गरेर जान खोजिएको उल्लेख गरे । उनले ७५ देखि ८० प्रतिशत खर्च गरिरहेको निजी क्षेत्रलाई साथमा लिएर नै देशले विकास गर्ने बताए । उनले निजी क्षेत्रलाई मनोबल उच्च गर्ने,प्राथमिकता दिने,विश्वासमा लिने, साथमा लिएर हिँड्ने गरी निजी क्षेत्रमैत्री बजेट ल्याउने कोसिस गरेको बताए । उनले सरकारका सीमा र अवस्थितिहरुले अनुमति दिएसम्म निजी क्षेत्रलाई साथै लिएर जाने र ठूला पूर्वाधार निर्माणमा सहकार्य गरिने बताए । उनले पूर्वाधार विकास गर्न खर्बौंको आवश्यकता रहे पनि राज्य एक्लैले खर्च गर्नसक्ने भन्दै निजी क्षेत्रलाई अगाडि ल्याउने बताए । अर्थमन्त्री पुनले सरकारले नयाँ चरणको आर्थिक सुधार गर्ने गरी बजेट ल्याइएको उल्लेख गरे । उनले आर्थिक सुधार आयोग गठन गरी आयोगले दिएका सकारात्मक सुझावका आधारमा आर्थिक सुधार गरिने बताए

अर्थमन्त्री पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने प्रतिवद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान बजेटमा उल्लेख कुरालाई कार्यान्वयन गरिने बताए । उनले अहिले कोही पनि सहकारीका कारण निरुत्साहित हुनु नपर्ने पनि दाबी गरे । उनले सहकारीका सञ्चालकले वचतकर्ताको वचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पत्तिको धितोबाट ५/५ लाख रुपैयाँ भएपनि फिर्ता गर्नतर्फ आफूहरु लागेको जानकारी दिए ।

यता, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेसरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको जनाएका छन् ।
उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताउँदै कानूनअनुसार नै माघमा गरिको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकासक्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गरे । उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले आकलन गरेको ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको बताए । गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यस वर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने भएपनि बजेट सानो आकारमा आएको गभर्नर अधिकारीको भनाइ थियो ।

अर्थसचिव मधुकुमार मरासिनीले स्रोत अनुमान समितिले माघमा दिएको बजेट सिलिङ जेठसम्म आउँदा स्वभाविक रुपमा बढ्ने बताए । बजेट सिलिङपछिका आवश्यकता र विकासक्रमका आधारमा बजेटको आकार वृद्धि हुने अवस्था रहेको उल्लेख गर्दै उनले बजेटको सिलिङ पछि मन्त्रालयगत रुपमा आयोजनाहरु थपिने भएकाले समावेश गर्दा आकारमा तलमाथि हुने गरेको बताए ।

अर्थसचिव मरासिनीले बजेटको सिलिङ बढाएको कुरा बाहिर सामान्यतया ल्याउने नगरिएको बताउँदै अर्थमन्त्रीले ठूलो राजनीतिक दबाबका बीच पनि १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए ।