समाचार

पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन प्रवेशमा कडाइ, मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथ मन्दिर परिसरको गरिमा बढ्ने वश्वास


काठमाडौँ— पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन लैजान नपाइने भएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै पशुपति क्षेत्र विकास कोषले अतिआवश्यक बाहेक अन्य सवारी साधनलाई पूर्ण रुपमा निषेध गरेको हो । यसले पशुपति दर्शनका लागि पुग्ने भक्तजनहरुको सुरक्षा र सहजता पुग्ने विश्वास कोषको छ । हिन्दु धर्मावलम्बीहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

अति आवश्यक शव बहान र एम्बुलेस बाहेक दुई पाङग्रे तथा चार पाङग्रे सबै खाले सवारी साधन प्रवेशमा रोक लगाइएको हो । दक्षिणमा मूर्ति उमाकुण्ड क्षेत्र, इटापाखादेखि भुवनेश्वरी चोक क्षेत्र, दयुटोलबाट मन्दिरको पश्चिम ढोका क्षेत्र, गौशालादेखि भुवनेश्वरी चोक क्षेत्र, वनकाली धर्मशाला अगाडिदेखि भकुण्टोल, चार शिवालय चोकदेखि दक्षिण ढोका क्षेत्र लगायत सबै क्षेत्रबाट सवारी साधन प्रवेशमा रोक लगाइएको छ । पशुपतिनाथ दर्शनमा आउने भक्तजनको बड्दो घुँइचो, शव दहन स्थल समेत रहेकाले मलाली, तीर्थयात्री, पर्यटक सबैको आवातजावतमा सहजता ल्याउन तथा सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको कोषले जनाएको छ । साथै, मन्दिर परिसरको पर्यावरणीय पक्षमा समेत जोड दिँदै पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण गर्न सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गरिएको कोषको भनाइ छ ।

सर्वोच्च अदालतले गत माघमा विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्रको पूरातात्विक, धार्मिक एवंम सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिँदै पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि सवारी साधन गुड्ने सबै बाटो बन्द गर्न आदेश दिएको थियो । पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनै पनि बाटो नखोल्नसमेत आदेशमा भनिएको छ । पशुपतिनाथ मन्दिरको सम्पत्ति संरक्षण गर्न पनि सर्वोच्चको आदेशमा उल्लेख छ । ‘पशुपतिनाथको सम्पत्ति, गुठी जग्गा, अन्य आम्दानी र खर्चको हर हिसाब, स्रेस्ता दुरुस्त र पारदर्शी रुपमा कायम राख्नू र ती सम्पत्तिको सुरक्षा, संरक्षणका लागि उचित व्यवस्थापन मिलाउनू’ सर्वोच्चको आदेशमा भनिएको छ । सवारी साधन प्रवेशमा निषधे गरिएसँगै पशुपतिनाथको दर्शनका लागि पुगेका दर्शनार्थीहरुलाई वनकाली क्षेत्रमा नि.शुल्क पार्किङको व्यवस्था गरिएको छ । विगतमा पनि पटक पटक पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको भए पनि प्रभावकारी नभएको अवस्थामा यो पटक नेपाल प्रहरी, काठमाडौं महानगर लगायत सबै निकायसँग समन्वय गरेर चुस्तदुरुस्त कार्यान्वयन गराउने पक्षमा कोष लागिपरेको छ ।

जेठ १ गतेदेखि पशुपतिनाथ मन्दिर परिसरमा सवारी साधन प्रवेशमा कडाइका साथ निषेध गरिएको हो । यसअघिबाट नै प्रवेशमा निषेध गरिए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको थिएन । अब भने पशुपतिनाथ मन्दिर परिसर सवारी साधनरहित बनेको छ । असरल्ल सवारी साधन, ध्वनि प्रदूषणले दर्शनार्थीहरुमाथि परेको मर्कालाई ध्यानमा राख्दै सवारी साधन प्रवेशमा निषेध गरिएसँगै पशुपति क्षेत्र यसअघिभन्दा शान्त देखिएको छ । यसले दर्शनार्थी तथा घुम्न आएका आगन्तुकलाई हिँड्डुलमा सहजता पक्कै हुनेछ । यसबाट विश्वका हिन्दुहरुको मुख्य आस्थाको केन्द्र रहेको धार्मिक एवंम पर्यटकीय गन्तव्य पशुपतिनाथ मन्दिर परिसरको गरिमा बढ्नेमा दुई मत छैन । यो निर्णय निरन्तर कार्यान्वयन हुनु पर्नेमा सरोकारवालाहरुले पनि जोड दिएका छन् । यसमा सबै पक्षको समर्थन र सहयोग रहने कोषले विश्वास व्यक्त गरेको छ ।