Breaking

हेर्दाहेर्दै घर खरानी, छैन खाना र छाना, चर्को घामको चपेटामा, केन्द्र र प्रदेश सरकार बेखबर


काठमाडौँ – महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका १ सय १० घर परिवार अहिले घरबिहीन बनेका छन् । बुधबार बस्तीमा लागेको आगोले लत्ताकपडासंगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको बिचल्ली भएको हो । पीडितहरुको राहत र उद्धारमासमेत सरकारले वेबास्ता गरेपछि उनीहरुमाथि झनै पीडा थपिएको छ ।।

महोत्तरीको मटिहानी जरलहवा बस्तीका १ सय १० घर परिवार अहिले खुला आकाशमुनि रात कटाउन बाध्य छन् । बुधवार बस्तीमा लागेको आगोले लत्ताकपडासँगै धनमाल जलेर नष्ट भएपछि बस्तीमा विपन्न परिवारको बिचल्ली भएको हो । अहिलेको अत्यधिक गर्मीमा घरभित्रै बस्नुपर्ने बेलामा उनीहरु खुला आकाशमुनि तातो घाममा बस्न बाध्य छन् । जसबाट विभिन्न रोगको जोखिम बढाउनेमा उनीहरु चिन्तित छन् ।

साथै प्रदेश र संघ सरकारले आगलागी पीडितका लागि राहत घोषणा नगर्दा राज्य छ भन्ने महसुस गर्न नसकेको पीडितले गुनासो गरेका छन् । आगलागी भएको बस्तीमा अवलोकन एवं निरीक्षणका लागि पुगेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रदेश र संघ सरकारले चाँडोभन्दा चाँडो राहतको घोषणा गर्नुपर्नेमा बेखबर भएको गुनासो गरे । उनले जनताको दुःखमा सरकार बेखबर हुनु दुःखद् कुरा भएको उल्लेख गरे ।

आगलागी पीडित फूलदेवी पासवानले आगोका कारण सबै धनमाल जलेर नष्ट भएको र लगाउने कपडा तथा खानेकुरा केही नरहेको दुखेसो गरिन् । उनले आगलागीका कारण आफूले पालिरहेको गाई मरेको र अन्य केही नबचेको बताइन् । त्यस्तै अर्का आगलागी पीडित मोहम्मद शेखले गर्मीको समयमा त्रिपाल टाँगेर बस्नुपरेको र यसले बालबालिकामा रोगको जोखिम बढाएको बताए । उनले खानेकुराको पनि अभाव हुँदै गएको र सरकारले चासो नदेखाएको गुनासो गरे ।

यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आगलागी भएको दिनदेखि नै पीडित परिवारलाई राहत उपलब्ध गराउन लागिपरेको जानकारी दिए । उनले नगरपालिकाले चिउरा, चिनी, त्रिपाल उपलब्ध गराएको बताए । पीडितलाई चाहिने अतिआवश्यक सहयोग उपलब्ध गराइरहेको उनको दाबी छ । त्यस्तै उनले प्रदेश र संघ सरकारलाई राहतको प्याकेजका लागि सहयोग गर्न पत्राचार गरिएको जानकारी दिए ।

त्यसो त सरकारले आगलागीलगायतका घटनामा क्षती न्यूनीकरणका लागि आवश्यक कार्यमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ । तर सरकारले निर्देशन दिँदैमा पीडितले राहत पाइहाल्ने अवस्था भने छैन । यस्तो बेला तत्काल राहत तथा उद्धार कार्यमा सरकारले चासो दिन आवश्यक छ । साथै, सम्बन्धित निकायलाई स्रोत साधन सम्पन्न बनाउँदै चाँडोभन्दा चाँडो पीडितको समस्या समाधानका लागि प्रभावकारी रुपमा चुस्तदुरुस्त राखिनु पर्ने हो । तर, डढेलो तथा आगलागी प्रकोपका घटनामा परेका पीडितले हप्ता दिनभन्दा लामो समयसम्म आवश्यक राहत तथा सहयोग नपाउनु चाहिँ राज्यको गम्भीर कमजोरीको रुपमा लिन सकिन्छ । यो विडम्बनाको अन्त्यका लागि तत्काल आवश्यक पहल लिन आवश्यक छ ।