Breaking

घर न घाटको बने उपेन्द्र, पार्टी सकियो, उपप्रधानमन्त्री पनि अशोकले खोस्दै, सीकेलाई मौका


काठमाडौँ – नेपाली कांग्रेसको उक्साहटमा सत्ता समीकरण फेर्न भएको प्रयासमा माधव नेपाल र उपेन्द्र यादव असफल भए । तर, यो असफलताको परिणाम भने उपेन्द्रले भोगिरहेका छन् । माधवले तत्कालका लागि पार्टी फुटको संकट टारे पनि उपेन्द्रको भने न पार्टी जोगियो न त आगामी राजनीतिक भविष्य नै सहज छ ।

मधेश आन्दोलनको रापताप र प्रभावबाट उदाएपछि अहिले उपप्रधानसहित स्वास्थ्यमन्त्री सम्हालिरहेका उपेन्द्र यादवको चर्चा कहिल्यै सेलाउन पाएको छैन । २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक सामाजिक संस्था गठन गर्दै २०६३–०६४ मा मधेश आन्दोलन सुरु गरेपछि उदाएको यो नाम राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने गरेको छ । तर, मधेशमा सङ्घीयताका पिता र मधेशका मसिहाको रुपमा परिचित उपेन्द्र यादव अहिले सम्भवत उनको राजीतिक यात्राकै सबैभन्दा कठिन मोडमा आइपुगेका छन् । उनी अमेरिका भ्रमणमा रहेकै बेला नेपालमा अशोक राईलगायतका सहयात्रीहरूले पार्टी फुटाएर अघि बढेपछि उनलाई ठूलो धक्का लागेको छ । उनकै छत्रछायाँमा रहेर राजनीतिमा पाइला चालेकाहरूले नै उनीविरुद्ध विद्रोह गरेपछि जनता समाजवादी पार्टी नेपाल दुई टुक्रामा विभाजित भएको छ ।

नेपाली कांग्रेसले देखाएको प्रधानमन्त्रीको ललिपपमा लोभिएका उपेन्द्रसँग न अहिले सिङ्गो जसपा नेपाल छ न त भइरहेको उपप्रधानमन्त्रीको कुर्सी नै सुरक्षित हुने छाँटकाँट देखिएको छ । उनको पदमा अशोक राईलाई ल्याउने तयारीमा प्रधानमन्त्री देखिन्छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका उपेन्द्रले भुइँको टिप्न खोज्दा खल्तीकै झर्दा राजनीतिक सङ्कटमा फसेका छन् । परिस्थिति यस्तो बन्दै छ कि केन्द्रमा मात्रै होइन मधेशको मुख्यमन्त्री सरोजकुमार यादवले पनि आफ्नो पद गुम्ने अवस्था आएको खण्डमा उपेन्द्रलाई जुनसुकै बेलामा लात हानेर साथ छोड्न सक्छन् ।

आफ्नो सत्ता टिकाउन जसपालाई फुटाएको आरोप लागेका प्रचण्डसँग सहारा माग्न गएका यादवलाई अशोक राईसँग नै मिलेर जान सुझाए पछि उनी असहज परिस्थितिमा छन् । विगतमा प्रचण्डको कठिन परिस्थितिमा पनि साथ दिएका उपेन्द्रलाई अहिले तिनै प्रचण्डले अशोक राईको पक्षमा उभिदा उपेन्द्रले धोका भएको महसुस गरिरहेका छन् ।

गत आमनिर्वाचनमा सप्तरी २ बाट उपेन्द्रको संसदीय यात्राको ढोका बन्द गरिदिएका सीके राउतको सम्बन्ध अझै तिक्ततापूर्ण नै छ । यद्यपि बाराको उपनिर्वाचनबाट पुनः संसदीय राजनीतिमा फर्किए पनि सम्बन्ध सुमधर हुन सकेको छैन । एकले अर्कालाई उछितो काट्ने काम भई नै रहेको छ । त्यसमा पनि जसपा नेपालको फुटपछि मधेशमा उपेन्द्रको प्रतिष्पर्धी भएर उदाएको नयाँ शक्ति जनमत पार्टीलाई फाइदा पुग्ने निश्चित छ । उपेन्द्रको ओरालो यात्राले सीकेलाई त बल पुग्छ नै मुर्झाएको लोसपालाई पनि मधेशमा आफ्नो प्रभुत्व जमाउने मौका मिल्ने छ ।

उपेन्द्र यादवको राजनीतिक जीवनमा यस्ता अनेक उतारचढाव जेलिएको हुँदा अहिले नै उनी सकिए भन्न हतारो होला । तर, ३० वर्षदेखि मधेशमा एकछत्र राज गरेका उपेन्द्रको राजनीति भने संकटमा परेको छ । सधैँ सत्ताको शक्तिमा रहेका उपेन्द्र पार्टी फुटसँगै किनारा लागेका छन् । १२ सांसदमध्ये सात जनाले उपेन्द्रको साथ छोड्दा अब उनीसहित जसपा नेपाल संसदमा पाँच जनाको अंक गणितमा सीमित बनेको छ । संसद्ममा सीके राउतको जनमतभन्दा पनि सानो हैसियतमा पुगेको जसपा नेपालले अब प्रदेशबाट पनि हात धुनु पर्ने खतरा बढेको छ । कुनै समय पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकोसमेत नेता बनेका उपेन्द्रले पार्टी फुटको श्रृङ्खलालाई रोक्न नसक्दा उनीमाथि बज्रपात त परेको छ नै विस्तारै राजनीतिबाट किनारा लाग्ने सङ्केत पनि दिएको छ ।