Uncategorized

चार दलका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष सकियो

संसदीय समिति गठन नगर्ने सत्तापक्षको अडान


काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्ने–नगर्ने भन्नेबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षले आफ्नो अडान कायमै राखेका छन् ।

सभामुख देवराज घिमिरेले सोमबार गरेको चार दलका शीर्ष नेताको छलफलमा सत्तापक्षले समिति गठन गर्न अस्वीकार गरेको थियो भने प्रमुख प्रतिपक्षले समिति गठन नगरी सदन चल्न नदिने अडान राखेका थिए ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कुनै सहमति नभएको भन्दै भोलि संसद् अवरोध भए त्यसको जिम्मेवार सत्तापक्ष हुने बताए । दुवै पक्षको अडान कायमै रहेपछि छलफल बिना निष्कर्ष सकिएको नेताहरूले बताएका छन् ।

यस्तै, सोमबार बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।