Breaking

लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद गठन


लुम्बिनी प्रदेशका नवनियुक्त मुख्य मन्त्री जोखबहादुर महराले शपथ लिएका छन् । शनिबार नियुक्त भएका महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

लुम्बिनीमा चार सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । शुक्रबार मुख्यमन्त्री नियुक्त भएका जोखबहादुर महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ लिएपछि तीन जनालाई मन्त्री नियुक्त गरेसँगै पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद बनेको हो ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन तथा जनता समाजवादी पार्टीबाट भण्डारीलाल अहिर रहेका छन् । अर्घाखांचीका आचार्य एमाले संसदीय दलका उपनेता हुन् ।

रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका नेता हुन् । उनी अघिल्लो चुनावमा पनि प्रदेश सांसद चुनिएका थिए । बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री थिए ।