मनोरञ्जन

‘पुजार सार्की’मा यस्तो देखिए पल शाह


काठमाडौँ— निर्देशक दिनेश राउतले आगामी फिल्म ‘पुजार सार्की’को नयाँ क्यारेक्टर फोटो आज सार्वजनिक गरेका छन् ।

तस्वीरमा फिल्मका शीर्षमध्येका अभिनेता पल शाहको लुक्स देख्न सकिन्छ । उनको पात्रको नाम मेघराज खत्री ‘मेगेजी’ राखिएको छ ।

तस्वीरमा मेगेजी पात्र बन्दुक बोकेर नदी किनारमा हिँडेको देखिन्छ । उक्त पात्र भादगाउँले टोपी, बाहुला नभएको कोट, कमिज र पाइन्टको पहिरनमा देखिन्छ । निर्देशक राउतले यो पात्रलाई सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य युवक भएको बताए ।

फिल्मले जातीय विभेदविरुद्ध तीन पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । पञ्चायतकालिन ग्रामिण सेटिङमा बनेको यो फिल्मको छायांकन कास्कीको रुपाकोटमा गरिएको छ । पटकथा लेखक विकास सुवेदीले आफूले देखेको र भोगेको कथालाई फिल्ममा उतारिएको बताए ।

चाँडै यो फिल्मको प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । यो फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली र परिक्षा लिम्बुको पनि अभिनय छ । यो फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बनेको हो ।