समाचार

कास्कीमा स्वरुप फेरिएका मोटरसाइकल चलाउन निषेध


काठमाडौँ— कास्कीमा मोडिफाइ गरिएका मोटरसाइकल चलाउन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक सूचना जारी गरी स्वरुप फेरेर मोटरसाइकल चलाए कारबाही गरिने जनाएको हो ।

‘स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ,’ प्रहरीले सूचनामा भनेको छ ।

अटेरी गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कडा कारवाही हुने व्यहोरासमेत कास्की प्रहरीले सूचनामा मार्फत सचेत गराएको छ । कास्की प्रहरीले गत भदौ २५ गतेदेखि स्वरुप फेरिएका मोटरसाइकल नियन्त्रण लिने अभियान चलाएको थियो ।

प्रहरीले हालसम्म ६ सय ८१ वटा स्वरुप फेरेर चर्को ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रणमा लिइसकेको छ । त्यसरी स्वरुप फेरिएका मोटरसाइकल धनीलाई पहिलो पटक पक्राउ परे अभिभावकको जिम्मा लगाइएको र पटके पक्राउ परेकालाई कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।

वास्तविक स्वरुप स्वरुपमा परिवर्तनसँगै होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का निकाल्ने मोटरसाइकलहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार स्वीकृति नलिई सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनी हुने खालका पार्टपुर्जा जडान गर्न पाइँदैन ।