Breaking

देउराली सहकारीका अध्यक्षको बयानपछि पक्राउ परेका थिए प्रभु बैंकका कर्मचारी


काठमाडौँ— देउराली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपाने र अन्य कर्मचारी पक्राउ परेको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

सेन्चुरी कमर्सियल बैंकमा हुँदा मिलेमतोमा ८० करोड रुपैयाँको धितोमा दुई अर्ब ऋण प्रवाह गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । मनोज तत्कालीन सेन्चुरी बैंकको सीईओ हुन् । उनीसहित १० जना मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मनोजसहित तुलसीराम गौतम, सविन घिमिरे, सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ छन् । प्रभु बैंकले सेन्चुरीलाई प्राप्त गरेपछि यी सबै प्रभु बैंकमा आएका थिए ।

मनोज, दिपेश र राजेश प्रभु बैंकमा उच्च तहमा कार्यरत छन् । तुलसीराम सेन्चुरी बैंकका पूर्व सीईओ हुन् । गत वर्षको पुसमा मर्जर हुँदा सेन्चुरीको सीईओ मनोज थिए ।

देउराली सहकारीका अध्यक्ष रविन्द्र अहिले पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बचतकर्ताको तीन अर्बभन्दा बढी हिनामिनागरेको आरोप छ । रविन्द्र गत असोजमा पक्राउ परेका थिए ।