अपराध

बच्चा चोर्ने महिलाको वास्तविकता,डेरामा प्रहरी पुग्दा सुत्केरी,प्रहरीकै अघि आफ्नो भएको दाबी (भिडियोसहित)


काठमाडौँ— काठमाडौँको थापाथलीस्थित प्रसुती गृहबाट शुक्रबार एकाएक बच्चा गायव भएपछि सुरुभएको कोलाहल अझै साम्य भएको छैन । प्रहरीले बच्चा लिएर फरार हुने महिलालाई पक्राउ गरेपछि थप चासो चुलिएको छ । एउटा आमाको कोख खोसेर आफ्नो काख भर्न खोज्ने महिला र उनका आफन्त पक्राउ परेकाछन्


शुक्रबार दिनदाहाडै थापाथलीस्थित परोपकार प्रसूति गृहबाट अर्कैको दुधे बच्चा लिएर एक जना महिला भागेपछि प्रहरीलाई दिनभर तनाव थपियो । अस्पतालर सडकको सिसिटीभी फुटेजका आधारमा मान्छे पछ्याउँदै प्रहरी मध्यराति काँडाघारीको एउटा घरमा पुग्यो ।जँहा दिनमा बच्चा बोकेर फरार भएकी महिला शिशु च्यापेर सुतिरहेकी थिइन् । अर्काको बच्चा लिएर हतार– हतार कुलेलाम ठोक्ने यी महिला हुन् दैलेखकी मनकुमारी सिंह । राती ११ बजे प्रहरी डेरामा पुगेपछि उनले सुरुमा बच्चा आफ्नै भएको दाबी गरिन् ।

तर, प्रहरीले उक्त बच्चा थापाथली अस्पतालबाटै झुक्याएर लगिएको सीसीटीभी क्यामेरामा देखिएको पुरापुर प्रमाणको सहायतामा त्यहा पुगेकाले महिलाको कुरा सुने तर, विश्वासिलो आधार भिडियो प्रमाणनै थियो। अर्काको बच्चा उठाएकी महिलाले केहीबेर आफ्नै बच्चा भएको अड्डी कसिन ।

त्यसपछि प्रहरीले भिडियो देखाएर उनलाई पक्राउ ग¥यो । प्रहरीले पक्राउ गरेपछि आतिएकी महिला रगतको आहालमा चुर्लुम्म डुबेकी थिइन् । उनको शरीरबाट उच्च रक्त श्राव हुनुको कारण उनको गर्भ खेर गएकोथियो। यही मौकामा उनले अस्पतालबाटै काभ्रेको चौरीदेउराली घर भएकी २२ वर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी लिएर फरार भएकी थिइन् ।

शुक्रबारअस्पतालको विश्राम कक्षमा रहेकी मन कुमारीलाई एक छिन बच्चा च्याप्दीन सहयोग माग्दै, सविना ओल्टो कोल्टो के लागेकी थिइन् , बच्चा काखमा पर्ने वितिकै उनले लिएर भाग्ने योजना बुनिन् । उनले बच्चा च्यापेर अस्वभाविक रुपमा आगाडी पछाडी मान्छे हेर्दै गरेको यो दृश्य हेर्नुहोस ।

अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार पक्राउ परेकी यी महिलाले आफ्नो बच्चा खेर गएपछि ‘धेरै माया लागेर’ अर्काको बच्चा लगेको स्वीकार गरेकी छिन्।प्रहरीले शिशु फेला पर्नासाथ राति नै उनकी आमालाई जिम्मा लगायएको छ । जन्मिएको केही दिनदेखि नै जन्डिस भएकाले शिशुको स्वास्थ्य झनै कमजोर भएको थियो। शिशुलाई राति नै काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको छ।

मनकुमारीसहित प्रहरीले उनका श्रीमान् नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ। उनका पति मल्ल नेपाली सेनामा कार्यरत छन्।दैलेखको नौमुले गाउँपालिका–१, अवततोली घर भएका उनीहरू अहिले काँडाघारीमा डेरा गरी बस्छन्। उनीहरूको बिहे भएको ३ वर्ष भयो।

सिंहले गरेको अपराधको प्रकृति अपहरणसँग मिल्ने देखिन्छ । यदि उनीमाथि अपहरण सम्बन्धी कसुरमा मुद्दा चल्यो र दोषी ठहरेमा ३ देखि १० वर्षसम्मको कैद सजायको भागिदार हुनुपर्नेछ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २११ को (क) मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डर त्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा अपहरण गरेको मानिने व्यवस्था छ ।

सो दफाको उपदफा (ख) मा कुनै व्यक्तिलाई निजको मन्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरूको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मन्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा पनि अपहरण गरेको मानिने व्यवस्था छ ।