Breaking

ललिता निवास जग्गा प्रकरणमा आज फैसला आउने


काठमाडौँ— बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजी व्यक्तिहरूको नाममा गएको प्रकरणमा विशेष अदालतले आज फैसला गर्दैछ।

विशेष अदालतले ललिता निवासको मुद्दा बुधबार हेर्दाहेर्दैमा राखेको थियो। यसको पेसी आजका लागि राखिएको छ।

बुधबार नै फैसला आउने भनिएपनि नभ्याएपछि आजका लागि पेसी तोकिएको हो।

विशेष अदालतका माघ २ गतेदेखि न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै मुद्दा दायर गरेको थियो।

अख्तियारले २०७६ माघ २२ गते विशेष अदालतमा पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित चार पूर्वमन्त्री, आयोगका पूर्वप्रमुख र २ जना पूर्वसचिवसहित १७५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।