Breaking

रवि–गगन सवाल जवाफ : सहकारी ठगीमा ठोकठाक, भाइ कांग्रेसी दोस्ती कसरी दुस्मनीमा बदलियो ? (भिडियोसहित)


काठमाडौँ— बुधबारको प्रतिनिधिसभामा रास्वपा सभापति रवि लामिछाने र कांग्रेस महामन्त्री गगन थापाबीच घोचपेच चल्यो । सत्तारुढ दल कांग्रेसका थापाले सरकारका कमजोरी औँल्याइरहेका थिए । त्यसै क्रममा सहकारी प्रकरणमा जोसुकै भएपनि नछाड्न भन्दै रवि लक्षित टिप्पणी गरेपछि लामिछाने पनि रन्किए ।

पार्टी फरक भए पनि एकअर्कालाई आशाको रुपमा देख्ने कांग्रेस महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एकअर्काप्रति कटाक्ष गरेको सार्वजनिक दृश्य यही हुनुपर्छ । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा आफ्ना विचार राख्ने क्रममा लामिछाने र थापाबीच घोचपेचको श्रृंखला चलेको हो । रविभन्दा पहिले बोल्न समय पाएका गगनले सहकारी ठग र त्यसका मतियारहरुलाई सरकारले कारबाही गर्न नसकेकोभन्दै आक्रोश पोखे । रविप्रति लक्षित गर्दै उनले नागरिकताको कीर्ते गर्ने, सहकारी ठग्ने कुनै दलको वा दलभन्दा बाहिरको जो सुकै भए पनि आमनागरिकलाई सरह हुने कारबाही हुनुपर्ने बताए ।

लामिछानेमाथि सहकारी ठगी प्रकरणमा विभिन्न निकायमा उजुरी परेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध कास्की प्रहरीमासमेत उजुरी दर्ता भएको छ । उसै ठगीको आरोपले हैरान लामिछानेले गगनलाई जवाफ फर्काउँदै कारबाही गर्न नयाँ दलले रोकेको हो त ? भन्दै प्रश्न गरे ।

हुन पनि सरकारमा सहभागी सबैभन्दा ठूलो दल कांग्रेस एक्सनमा गएर ठगहरुको भागाभाग पार्न सक्नु पर्नेमा व्यक्ति लक्षित गगनको टिप्पणी नैतिक रुपमा आलोचना योग्य थियो । उनीहरुको बाझाबाझ यतिमा मात्र सीमित रहेन । सरकारका कमजोरी केलाउँदै गगन थापाले सरकारप्रति जनतामा विश्वास गुम्दै गएको बताए । अहिले अड्डा अदालतदेखि प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको उल्लेख गरे । संगोय के प¥यो भने लोभी न्यायाधीशको क्याप्चरमा अदालत परेपछि अनुसन्धान गर्ने समयसमेत नदिई सीआईबीमाथि हस्तक्षेप गर्दै भएको काठमाडौं जिल्ला अदालतको आदेशका आधारमा व्यवसायी अरुण चौधरी रिहा भइरहेका थिए । सरकारले लय समात्न नसकेको फेहरिस्त गगनले सुनाएपछि रविले यत्तिका थाहा हुँदा पनि सरकारमै भएको दलका सांसदलाई काम गर्न कसले रोक्यो भन्दै प्रश्न तेस्र्याए ।

रवि र गगनले एक अर्काप्रति गरेको यो कटाक्ष नौलो भने होइन । तर केहीका लागि आश्चर्यजनक पनि हुन सक्छ । यसअघि गगन थापा र रवि लामिछाने मिल्नेसम्मकै चर्चाले राजनीतिक वृत्त तातेको थियो । २०७९ सालको आमनिर्वाचन अघिसम्म उनीहरुको सम्बन्धमा मधुरता नै थियो । तर आफ्नै निर्वाचन क्षेत्र छाडेर भएपनि डा. स्वर्णिम वाग्लेलाई अघि बढाउन चाहने गगनलाई उनै स्वर्णिमले धोका दिए । कांग्रेसको घोषणापत्र लेख्नमा महत्वपूर्ण भूमिका खेल्ने मनिष झा पनि रास्वपातिरै भाषिए । त्यसपछि गत वैशाखमा भएको उप–निर्वाचनका क्रममा स्वर्णिमलाई अवसरवादीको संज्ञा दिँदै गगनले रास्वपाकै विरोध गर्न थाले । गगनले पहिलोपटक वैशाख चार गते चितवनमा चुनावी सभाका क्रममा रविले भावनाको व्यापार गरिरहेको आरोप लगाउँदै अभिव्यक्ति दिए । त्यो भाषण नै उनीहरुको सम्बन्धमा चिसोपना ल्याउने सेतु बनेको हुनुपर्छ ।

उपनिर्वाचन अघि गतवर्ष मंसिरमा कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा गगनको चर्चा निकै चुलिएको थियो । यतिसम्म कि संसदीय दलको निर्वाचनमा गगन विजयी भए प्रधानमन्त्री बनाउन रास्वपाले सर्मथन गर्नेसम्मकै चर्चासमेत चलेको थियो । तर गगनले विश्वास गरेको तप्का नै रास्वपा छिरेपछि गगन–रवि सम्बन्ध चिसिएको हो । तर पछिल्लो समय पुराना नेता र दलहरुप्रति वितृष्ण बढिरहेका बेला रवि र गगन दुबै जनताले बढी रुचाएका पात्रहरु हुन् । रविले घरदैलो अभियान र गगनको मेची–महाकाली संवाद यात्रामा देखिएको जनसर्मथनले पनि यसको पुष्ट्याईं गर्छ । तर आशा गरिएका पात्रहरु नै एक अर्काप्रति भिड्ने अवस्थामा पुगेका छन् । परम्परागत शैलीमै उनीहरु पनि एकले अर्कालाई हिलो छ्याप्ने र आफू पानीमाथिको ओभानो हुने प्रवृत्ति देखा पर्नु नेपाली राजनीतिको भविष्यसमेत उही ढ्यांकको मूला नहोला भन्न सकिन्न ।।