Breaking

संकटै संकटमा फसे प्रचण्ड : माधव र देउवा नै बैरी, मन्त्रीले टेरेनन्, फेर्न पनि सकेनन्

प्रचण्डमा हुटहुटी, गठबन्धन बाधक


काठमाडौँ – सत्ता जोगाउन अनेक उपाय लगाइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष दल एमालेसँग पनि सहकार्यको हात अघि बढाएका छन् । सत्तारुढ दलबाटै चर्को आलोचना खेपिरहेका प्रचण्ड विपक्ष दल एमालेलाई पनि साथमा लिने रणनीतिमा छन् । सत्ता जोगाउन अनेक उपाय सोचिरहेका प्रचण्डको पछिल्लो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालीमा एउटा भनाइ छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर । अहिले यो भनाइ देशको बागडोर सम्हालिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ठ्याक्कै मेल खान पुगेको छ । देश र जनताको परिवर्तनको लागि काम गर्नुपर्ने प्रधानमन्त्री सत्तारूट दललाई रूझाउनमै समय व्यतित गरिरहेका छन् । एमालेसँग गठबन्धन तोडेर पुरानै गठबन्धनमा फर्किएको दिनदेखि प्रचण्डलाई देश र जनताको लागि भन्दा पनि सत्ता गठबन्धन दललाई रूझाउनमै बढी समय खर्चनु परेको छ । प्रचण्डले गर्ने हरेक कार्यमा भित्री रूपमा कांग्रेस सभापति देउवाले थेगी नसक्नुको दबाब दिइरहेको छ ।

सार्वजनिक रूपमा महामन्त्री गगन थापाले निरन्तर आफू सत्ताघटक दलको नेता भएको भुलेर प्रचण्ड नेतृत्वको सरकारको विरोधबाहेक केही गर्न सकेका छैनन् । हरेक सार्वजनिक मञ्च आफ्नो पार्टी संलग्न रहेको सरकारको विरोध गरेर नथाक्ने सत्ताघटक दलमा नेतामा गगन थापा अग्रपंक्तिमा आउँछन । उनले प्रचण्डलाई खुमालटारबाट बालुवाटार पु¥याउन पु¥याउन सक्ने चेतावनी दिइरहेका छन् ।

गगनको यो भनाइले पनि कांग्रेसले आफ्नो शक्ति कसरी प्रदर्शन गरेको छ भन्ने कुरा प्रष्ट हुन्छ । प्रचण्ड देश र जनताको लागि भन्दा पनि अहिले सत्ता र प्रधानमन्त्रीको कुर्सी जोगाउनका लागि दिनरात कांग्रेसको कुरा सुन्नमा व्यस्त रहेका छन् । प्रचण्ड नेतृत्वको सरकारले सुरूवाती दिनमा केही राम्रा संकेतहरू देखाए पनि सबै काण्ड र प्रकरणमा सत्तारुढ दलका नेता मुछिएपछि सामसुम पार्नुपर्ने बाध्यात्मक स्थिति आएको थियो । कांग्रेसले सरकारका हरेक काममा प्रश्न उठाइरहेको छ । प्रचण्डमा आफू नेतृत्वको मन्त्रीमण्डलमा नयाँ अनुहार ल्याएर काम गर्ने हुटहुटी देखिन्छ । तर, कांग्रेस सभापति देउवाले साथ दिएका छैनन् । त्यहीकारण मन्त्रिपरिषद पुनर्गठन रोकिएको छ । सत्ताघटक दलकै दबाबका कारण मन्त्री परिवर्तन गर्न कठिन भएको माओवादी नेताहरूले बताइरहेका छन् ।

मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीले राख्छन । विवादित मन्त्रीलाई फिर्ता बोलाउन समेत प्रचण्डले सकेका छैनन् । गठबन्धन सरकार भएकाले सत्तारुढ दलका नेतालाई विश्वासमा लिन आवश्यक छ । तर, सत्तारुढ दलहरूबीच सबै विषयमा सहमति हुन सक्दैन । तर, प्रचण्ड सत्तारुढ मात्रै होइन, विपक्ष दललाई समेत विश्वासमा लिन खोजिरहेका छन् । यसअघि गठबन्धन फेर्दा पनि प्रचण्डले यस्तै नीति लिएका थिए । एमाले र माओवादीबीच भित्रभित्रै सहकार्यको प्रयास जारी रहे पनि बाहिर भने विरोधको नारा लगाइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डकै पहलमा एमालेलाई सत्तारुढ गठबन्धनले यसअघि संसदीय समितिको नेतृत्व दिएको थियो । तेस्रो दलको नेता भएर पनि प्रचण्डले पहिलो र दोस्रो दललाई घुमाइरहेका छन् । प्रधानमन्त्री प्रचण्ड भागबन्डामा मस्त सुशासन र समृद्धि खोक्रो नारामा परिणत हुँदै गएको छ ।सरकार कुहिरोमा हराएको काग जस्तो भएको छ । प्रधानमन्त्री प्रचण्ड दैनिकजसो अनेकै सकसमा फस्दै गएका छन् । त्यही कारण सत्ता जोगाउन उनले अनेक प्रपञ्च रच्दै आएका छन् ।