समाचार

बाँदरले दु:ख दिएपछि पोखरामा वडाले सुरु गर्‍यो रुख काट्ने अभियान


काठमाडौँ – पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । वडाध्यक्ष पाण्डेले निकालेको उक्त सूचना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सूचनामा साविक लामाचौर पुरञ्चौर क्षेत्र बाँदरबाट अतिप्रभावित क्षेत्र भएको र प्रदेश सरकारले पनि चालु आर्थिक वर्षको नीति कार्यक्रममै बाँदर नियन्त्रण गर्ने उल्लेख गरेको हवाला दिंदै १० दिनभित्र सबै रुख काट्न निर्देशन जारी गरेका छन् ।

वडाध्यक्ष पाण्डेले उक्त अभियानअन्तर्गत आफ्नो पुर्जामा भएको रुखमात्रै काट्न भनिएको प्रष्टीकरण दिएका छन् । यद्यपि, उनले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख गरिएको छैन । तत्कालीन समयमा वनविनास रोक्न उत्तिस, चिलाउनेलगायतको रुख रोप्दा काफललगायतको फलफुलको बिरुवा मासिएको उनको दाबी छ । वडाध्यक्ष पाण्डेले कटान गरिएका रुख बिक्रिवितरण गर्न भने नपाइने बताए । उनले वडाले चलाएको अभियानअन्तर्गत कटान भएका रुख व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने तर बिक्रिवितरण भएको पाइए वन कार्यालयले कारबाही गर्न सक्ने बताए ।