Breaking

मध्यावधिको हल्ला गर्दै सत्ता हत्याउन ओलीका अनेक दाउ, एनसेल घोटलामा प्रचण्डमाथि शंका !


काठमाडौँ – १८ दिन मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा गरेको एमालेले अभियानको समीक्षा गरेको छ । जसले विकासबारे सम्भावनाका ढोकाहरू खुलेको दाबी एमालेको छ । त्यसक्रममा जनतासँग गरिएको अन्तक्र्रियाले आगामी दिनमा नीति निर्माण गर्न र ती नीतिहरू कार्यान्वयन गर्न यो यात्राले महत्वपूर्ण भूमिका खेलेको निश्कर्ष निकालेको छ । तर सत्तारोहरणबारे भने एमालेको लाइन स्पष्ट नहुँदा कार्यकर्ता नै अलमलमा छन् । अभियानमा जाँदा यही संसदले निकाश दिन नसक्ने भन्दै मध्यावधिको औचित्य पुष्टि गर्न पछि नपरेको एमाले यही संसदमा सरकार बनाउन अनेक दाउ हेरिरहेको छ ।

एमालेको एकल सरकार भए मात्रै देशले निकास पाउने भन्दै मध्यपहाडी लोकमार्गका जनताको मनमुटु छामेर फर्किएको एमाले सत्तारोहरणको कसरतमा लागेको छ । समृद्धिका लागि संकल्प यात्राको नाम दिएर गरिएको १८ दिनमा एमालेले मध्यावधि निर्वाचनको औचित्यसमेत पुष्टि गराउन खोजेको थियो भने सो अभियानलाई मिसन–८४ कै अंग भएकोसमेत बताएको थियो । अर्थात २०८४ को चुनावमा एमालेको एकल बहुमत आए मात्रै देशले निकास पाउने निश्कर्ष एमालेको थियो । अभियानको समीक्षा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने जिकिर गरे ।

अहिले पार्टी पदाधिकारीभन्दा बढी ओलीको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हुन्छ । यदि प्रचण्ड नेतृत्वको सरकार असफल भएकै हो भने प्रचण्डसँगकै हिमचिम बढी किन भन्ने प्रश्न स्वभाविक रुपमा छ । आइतबार बिहान पनि बालुवाटारमा कांग्रेस सभापति शेरबहादुुुर देउवा, ओली र प्रचण्डको भेट भयो । उक्त भेटमा टीआरसी विधेयकबारे छलफल भएको थियो । भेटमा एनसेलबारे कुरा नउठाएका ओलीले पत्रकार सम्मेलनमार्फत भडास पोखे । प्रचण्डले एनसेलका नयाँ मालिक सतीशलाल आचार्यसँग सबै शीर्ष नेताको हिमचिम रहेको बताएका थिए । ओलीले भने बेथिति गर्नु र व्यापारी चिन्नु एउटै कुरा हो रु भन्दै प्रश्न गरे ।

अभियानका क्रममा पार्टीका भनाइ र गराई फरक पर्न थालेको छ । २०८४ को निर्वाचनमा एकल बहुमत दिन जनतासँग हात जोडेको एमाले अहिले नै गठबन्धन फेरेर सरकारमा जाने रणनीतिमा देखिन्छ । उसले राष्ट्रियसभा निर्वाचनमार्फत नयाँ समीकरण बनाएर सत्तारोहणको छिर्के दाउमा छ । ‘नहुनु मामाभन्दा कानो मामा निको’ भनेझैं एमाले शून्य हुनुभन्दा कांग्रेसलाई १३ सिटको आकर्षक अफर दिएर अहिलेको गठबन्धन फेर्न प्रस्ताव नै गरेको चर्चा छ । यसो भए सात सिट एमालेले पाउनेछ । यो अफरले माओवादी र एकीकृत समाजवादी झस्किएका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने एमाले अध्यक्ष ओलीको प्रस्ताव अस्वीकार गरिदिए । अब एमाले जसपा र राप्रपा फकाउनतिर लागेको छ । यसो भए सत्तायात्राको बाटोसमेत खोज्न सकिनेमा एमाले देखिन्छ । संकल्प यात्रा सकाएर आएको एक महिना नपुग्दै गठबन्धन फुटाउने एमाले प्रयासरत छ । यही बिचमा एमालेले भ्रष्टाचारको ठूलो स्वरमा विरोध ग¥यो तर बिस्तारै सेलाउँदै गए । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद अवरोध गर्नेसम्मका गतिविधिमा पनि एमाले उत्रिएको थियो तर अहिले उ आफैँ चुपचाप छ ।

देशमा राजनीतिक अस्थिरताको कारण जनतामा आएको निराशालाई आफूहरूको चिर्न सफल भएको एमालेले दाबी गरेको छ । निराशाको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउन भएका प्रयासलाई मध्यपहाडी लोकमार्ग यात्राले अर्थहीन बनाएको दाबी एमालेको छ । यद्यपि, एमालेको भनाइ र गराईमा गहिरो अन्तर देखिएको छ । जनतामा जाँदा यो संसदले निकास दिन नसक्ने र मध्यावधि नै अन्तिम विकल्प रहेको बताउने तर केन्द्र फर्किसकेपछि यही संसदबाट सरकार बनाउन चाहने एमालेको धार बुझिनसक्नु छ । जसलाई एमालेले व्यवस्था टिकाउने पहलका रुपमा अथ्र्याएको छ । एमालेले लिएको यो दोधारे लाइनले कार्यकर्ताहरुमै अन्योल छाएको छ ।