अन्तर्राष्ट्रिय

चीनको दबावमा अमेरिका, फेरि बढ्यो सित युद्ध, पुटिनलाई सहयोग गरे सैह्य नहुने चेतावनी (भिडियोसहित)


काठमाडौँ— चिसिएको सम्बन्धलाई सुमधुर हुने अपेक्षासहित तीन दिने भ्रमणमा चीन गएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको यात्रा सोचे अनुसार सफल हुन सकेन । चिनियाँ पक्ष र ब्लिङ्केनबीच भएको भेटवार्ताको निर्कषमा पुग्दा यी दुईबीच झन् दरार पैदा हुने सङ्केत देखिएको छ ।
विगत केही दशक देखि विश्व अर्थतन्त्र र शैन्यशक्तिमा प्रतिष्पर्धी बन्दै आएका अमेरिका र चीनबीच निषेधको राजनीति चल्दै आएको कोही कसैसँग लुकेको छैन । त्यही चिसिएको सम्बन्धलाई सुमधुर बनाउन तीन दिनका लागि चीन गएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन स्वदेश फर्किसकेका छन् । तर, बिग्रिएको सम्बन्ध सुधार्न आएका ब्लिङ्केनको तीन दिने चीन यात्रा खास्सै उपलब्धि मुलक भने हुन सकेन ।


एकअर्काको प्रतिद्वन्द्वीभन्दा विकासको साझेदार हुनु पर्ने जस्ता मुद्दा चिनियाँ पक्ष र विदेश मन्त्री ब्लिङ्केनबीच उठे पनि रुस–युक्रेन युद्ध र अमेरिकामा टिकटकको प्रतिबन्धको विषय समेत उठ्दा यी दुईबीच चेतावनी पूर्ण भाषाशैलीको प्रयोग भएको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । यसै वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्ष पुग्दै गर्दा विश्वका दुई ठूला अर्थतन्त्र भएको यी देशबीच हानी प¥याउने भन्दा पनि साझा सफलताको स्थान खोज्नु पर्ने चिनियाँ राष्ट्रपति सी जिन पिङले विदेशमन्त्री ब्लिङ्केनलाई बताएका थिए ।
साथै भनाई र गराईमा एकरुपता ल्याउन पनि आफ्नो बोलीको मान राख्नु पर्ने भन्दै विदेशमन्त्रीलाई व्यङ्ग्य गरेका थिए । त्यस्तै ब्लिङ्केनले पनि रुसलाई सहयोग नगर्न चीनलाई चेतावनी दिएका थिए । राष्ट्रपतिसँग भेट्नुअघि चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गरेका ब्लिङ्केनले युक्रेनमाथिको आक्रमणमा रुसलाई आर्थिक र शैन्य सहयोग गरेको आरोप लगाउँदै चीनलाई कडा कारबाही गर्न चेतावनी दिएका थिए । चिनियाँ विदेशमन्त्री वाङले पनि आफ्नो सार्वभौमसत्ता, सुरक्षा र विकासमा ‘रेड लाइन’ पार नगर्न भन्दै धम्कीपूर्ण भाषाको प्रयोग गरे । यसले पनि यी दुई बीच मित्रता भन्दा सत्रुता बढेको विश्लेषण सुरु भएको छ।
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाएको विषयमा पनि विदेशमन्त्री ब्लिङ्केनको चीन भ्रमणमा कुरा उठ्यो । टिकटकमा प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सिनेटबाट पारित हुँदा आफूलाई प्रतिबन्ध लगाउने अमेरिकी कानुनविरुद्ध अदालत जाने टिकटकले चेतावनी दिएको छ । ७० लाख व्यवसायलाई ध्वस्त पार्ने र अमेरिकी अर्थतन्त्रमा वार्षिक २४ अर्ब डलरको योगदान गर्ने प्लेटफर्म टिकटकलाई बन्द गर्ने विधेयक पारित गर्नु ‘दुर्भाग्यपूर्ण’ भन्दै अमेरिकी कानुन निर्माताहरूले १७ करोड अमेरिकीको स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिएको तर्क गरेकाछन् । राष्ट्रपति जो बाइडेनले यसै महिनाको प्रारम्भमा चिनियाँ राष्ट्रपति सीसँगको दुर्लभ टेलिफोन वार्तामा टिकटकबारे राष्ट्रिय सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका थिए ।


त्यस्तै अमेरिका र चीनबीचको सम्बन्धमा थप दरार पैदा हुँदै जाँदा चीन अमेरिकलाई घेर्ने गठबन्धनमा लागेको छ । विश्वभर अमेरिकाले जमाउँदै आएको अधिपत्य अन्त्य गरी विद्यमान विश्व व्यवस्थाको विकल्प खोज्ने चीन लागिपरेको छ । चीन, रूस, इरान र उत्तरकोरियाले आफ्ना साझा हितको पहिचान गर्दै त्यसमै आधारित रहेर सैन्य तथा कूटनीतिक र राजनीतिक क्षेत्रमा आपसी समन्वय गरिरहेका छन् । भूराजनीतिक परिदृश्यलाई मौलिक रूपमा परिवर्तन गर्न खोजिरहेको संकेत यसले गर्दा विश्वमा शासन गरिरहेको वासिङ्टन र उसका सहयोगीलाई कमजोर बनाउने अन्तरर्राष्ट्रिय क्षेत्रमा विश्लेषण हुन थालेको छ ।