समाचार

रामजानकी विवाहका लागि जनकपुरधाममा दर्शनार्थीहरुको घुइँचो


जनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज राम जानकीको वैवाहिक कार्यक्रमको आयोजना गरिँदैछ ।

यसका लागि जानकी मन्दिरको प्राङ्गण सजाइएको छ । विवाहपूर्व आज जानकी मन्दिरबाट निस्किने माता सीताको डोला अर्थात बेहुली पक्षको टोली र राम मन्दिरबाट निस्कने भगवान रामको डोला अर्थात बेहुला पक्षको टोली जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा पुगेर मिलन हुने गर्दछ ।

रङ भूमि मैदानमा दुवै पक्षको डोला पुगेपछि लाखौंको संख्यामा उपस्थित तिर्थालुहरुको बीच मिथिला परम्पराअनुसार स्वयम्वर कार्यक्रमको आयोजना हुने गर्दछ । सो स्वयम्वर कार्यक्रमको अवलोकन गर्न नेपाल तथा भारतबाट आएको तिर्थालुहरुको उल्लेख्य संख्यामा उपस्थिति हुने गर्दछ । स्वयम्वर कार्यक्रमको समापन भएपश्चात रङभूमि मैदानबाट दुवै मन्दिरको डोलासहित संयुक्त रुपमा निस्कने शोभा यात्रा नगरको विभिन्न भागको परिक्रमा गरी जानकी मन्दिरको प्राङ्गण पुग्ने गर्दछ ।

जानकी मन्दिरकै प्राङ्गणमा भारतको अयोध्याबाट जन्तिका रुपमा आएका साधु सन्तको उपस्थितिमा भगवान राम र माता सीताको विवाह सम्पन्न हुने गर्दछ । मिथिलाको विधि विधानअनुसार अबेर रातिसम्म चल्ने यस वैवाहिक कार्यक्रमको अवलोकन गर्न मन्दिरको प्राङ्गणमा हजारौँको संख्यामा तिर्थालुहरुको उपस्थिति रहने गर्दछ ।

पछिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने विश्वास गरिएको छ । रामजानकी विवाहका लागि जनकपुरधाममा लाखौँ दर्शनार्थीहरुको घुइँचो लागेको छ ।