Breaking

सकारात्मक सर्किट पछि नेप्से कारोवार बन्द


काठमाडौं । मौद्रिक नीतिमा राष्ट्र बैंकको संसोधनको प्रभाव सेयर बजारमा देखिएको छ ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाएर एक सय २५ बनाएको थियो । यससँगै लगानीकर्ताहरूमा सकारात्मक सन्देश प्रवाह भएको मानिएको छ । साताको पहिलो कारोबार दिन आइतबार ३ पटक सकारात्मक सर्किट लागेपछि सेयर बजारको कारोबार बन्द भएको छ ।

कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मा पुनः खुलेको बजारमा २ मिनेटमै नेप्से परिसूचक ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थगित भयो । पुनः १२ बजेर ७ मिनेटमा पुनः सुरु भएको कारोवार २ मिनेटमै ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

योसंगै नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ । आज १११ अंकको कारोवारपछि परिसूचक १ हजार ९६३ विन्दुमा पुगेको छ । परिसूचक एकै दिन उच्च अंकले दुइ वर्षपछि बढेको हो । आज बजारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँको कारोबार भएको छ ।
०००