देश

क्याननले फिचर्ड गर्‍यो चुङ्बा शेर्पाले खिचेको रेडपाण्डाको तस्वीर


काठमाडौँ – क्यानन एसियाले नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेको तस्वीर आफ्नो सोसल मिडिया प्लेटफर्ममा ‘फिचर्ड’ गरेको छ ।

विश्व रेडपाण्डा दिवसको अवसर पारेर शेर्पाले खिचेको रेडपाण्डाको तस्वीर क्यानन एसियाले फेसबुक र इन्स्टाग्राममा शेयर गरेको हो ।

जापानको बहुराष्ट्रिय कम्पनी क्याननले आफ्नो ब्राण्डका क्यामेराबाट खिचिएका उत्कृष्ट तस्वीर सोसल मिडियामा फिचर्ड गर्ने गरेको छ । पोस्ट गर्नुअघि कम्पनीले विभिन्न चरणमा तस्वीरबारे बुझ्ने र अनुमति लिने गरेको शेर्पाले बताए ।

‘इमेल र इन्स्टाग्राममार्फत धेरै प्रश्न सोधेपछि मात्रै मैले खिचेको रेडपाण्डाको तस्वीर क्याननले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममा शेयर गर्‍यो । विश्वभरिका फोटोग्राफरले नियाल्ने क्याननजस्ता ब्राण्डले मैले खिचेको तस्वीर शेयर गरिदिँदा खुसी लागेको छ’ यसले नेपालको पर्यटन प्रवर्धनमा सहयोग नै पुग्यो भन्ने लाग्छ, शेर्पाले भने ।

‘रेडपाण्डाले अधिकांश समय रूखमै बिताउँछ । कम प्रकाशमा यसको तस्वीर खिच्नु एक चुनौती नै हो । तैपनि पूर्वी नेपालमा चुङ्बा शेर्पाले रेडपाण्डाको यति विस्तृत तस्वीर खिचेका छन्’, क्यामेरा र फोटोको डिटेलसहित क्यानन एसियाले लेखेको छ ।

तीन दशकभन्दा बढी पर्यटन क्षेत्रमा योगदान गरेका सोलुखुम्बुको चौरीखर्कमा जन्मेका ६३ वर्षे शेर्पा ६ वर्षयता पूर्णतः वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय छन् ।