Breaking

एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल खेमाका राधाकृष्ण कँडेल विजयी


काठमाडौँ — नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।

प्रतिस्पर्धी हरि रिजाललाई २ मतान्तर मात्रैले पराजित गर्दै प्रदेश कमिटी अध्यक्षमा कँडेल विजयी भएका हुन् । कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

रूपन्देहीको बुटवलमा चार दिनदेखि जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमति नजुटेपछि नेतृत्व चयनको लागि मंगलबार मतदान भएको थियो । कँडेल र रिजाल समूह प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए । कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

अध्यक्षमा पराजित हुने रिजाल एमाले महासचिव शंकर पोखरेल निकटका नेता हुन् । एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा आफू निकटलाई विजयी बनाउन पौडेल र पोखरेल कम्मर कसेर लागेका थिए ।

त्यसैगरी कमिटीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी विश्वराज बरालले ३ सय ६ मत मात्रै प्राप्त गरेका छन् ।

सचिवमा लक्ष्मण आचार्य निर्बिरोध निर्वाचित भएका छन् । कमिटीको उपसचिवमा पूर्ण बुढामगर ४ सय १८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी दुर्गाप्रसाद थारुले ३ सय ९३ मत प्राप्त गरेका छन् ।

महिला उपसचिवमा लीला राना मगर १ मत बढी ल्याएर विजयी भएकी छन् । मगर ३ सय ५२ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी वसन्ती अधिकारीले ३ सय ५१ मत मात्रै प्राप्त गरेकी छन् ।