Breaking

एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरू


काठमाडौँ – नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको छ । सोमबार रातिदेखि नै सुरू गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरू गरिएको हो ।

रातको समयमा मतदान गराउँदा राम्रो सन्देश नजाने भएकाले मंगलबार बिहान मतदान गराइएको निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् । उनीहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । शनिबार र आइतबार सहमतिको प्रयास गरे पनि नेताहरु सफल भएनन् । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन सहमतिको प्रयास असफल हुँदा दुई दिन लम्बिइसकेको छ ।

लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् । उनी अध्यक्षका प्रत्यासीद्वय कँडेल र रिजाल दुवै पक्षको समूहमा थिए । अब अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरु निर्वाचनबाट चुनिने छन् । निर्वाचनले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।