Breaking

शनिबारदेखि मौसममा क्रमिक सुधार हुने


काठमाडौँ – मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । आज र भोलि पनि अहिलेको जस्तो अवस्था रहीरहने पूर्वानुमान छ । वरिष्ठ मौसमविद वरुण पौडेल शनिबारदेखि मात्र मौसममा क्रमिक सुधार हुने बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर तिर सरेर नेपाल नजिक अवस्थित छ । साथै भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव परेको छ । त्यसैले देशभर नै बदली भई हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको हकमा दिउँसो केहीबेर वर्षा रोकिए पनि बादल नहट्ने र अपराह्न फेरि पानी पर्ने सम्भावना छ । राति वर्षाको मात्रा अझै बढ्ने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा लेखिएअनुसार आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यी क्षेत्रहरूबाट बहने नदीको जलसतह बढ्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।