विदेश

भारतको चन्द्रयान–३चन्द्रमामा सफल अवतरण, पानी खोज्दै ईसरो, मोदीको जयजयकार, जनतामा खुशीयाली

योहो संवाददाता

काठमाडौँ — भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो देश बन्न सकेको छ । चन्द्रयान–३ लाई सफलतापूर्वक अवतरण गराउन सफल भएसँगै भारत चन्द्रमाको सतहमा चन्द्रयान अवतरण गर्ने चौंथो देश बनेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ लाई सफलतापूर्वक अवतरण गराउन सफल भएको छ ।

यससँगै कम अन्वेषण गरिएको उक्त भागमा पुग्ने भारत पहिलो देश बनेको छ। चन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो।दक्षिणी ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ गत आइतबारमात्रै चन्द्रमामा दुर्घटनाग्रस्त भएकोमा भारत पनि सशंकित थियो ।

उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए । अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए । सफल अवतरणसँगै प्रधानमन्त्री मोदीले आजै देशवासीलाई सम्बोधन गरेका छन् ।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान ३ पठाउनुको मुख्य उदेश्य भनेको चन्द्रमामा पानी खोजी गर्नु हो । जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खाजी गर्नु रहेको छ । चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको भनाइ छ ।

भारतको यो तेस्रो चन्द्र अभियानको सफलताको प्रार्थना गर्दै भारतमा बुधवार दिउसैदेखि मन्दिर, मस्जिद र गिर्जाघरहरूमा प्रार्थना कार्यक्रमहरू आयोजना गरिएका थिए। सफल अवतरणसँगै भारतीय नागरिकहरुले निक्कै खुशी व्यक्त गरेका छन् ।

यसअघि सन् २०१९ मा समेत भारतले चन्द्रयान २ मिसनलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो।तर यान दुर्घटनाग्रस्त भएपछि उक्त अभियान विफल भएको थियो।सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र मिशन चन्द्रयान–१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।

त्यसले दिउँसोको समयमा चन्द्रमामा वायुमण्डल पनि हुन सक्ने जनाएको थियो । भारतले ‘चन्द्रयान–३’ मिसनका लागि ६ सय १५ करोड भारतीय रुपैयाँ खर्चेको प्रारम्भिक अनुमान छ । मिसनले चन्द्रमाको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ । त्यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाबारे पनि अध्ययन गरिने जनाइएको छ ।