विदेश

रुसको धम्किबीच युक्रेनलाई दुई देशले लडाकु जहाज दिदै, नराम्रो परिणाम भोग्नु पर्ने चेतावानी

योहो संवाददाता

डेनमार्क र नेदरल्याण्डले युक्रेनलाई लडाकु जहाज दिने भएका छन् । यी देशले अमेरिकी निर्माण कम्पनीका एफ–१६ लडाकु जहाज युक्रेनलाई हस्तान्तरण गर्न लागेका हुन् । त्यसको लागि अमेरिकाले स्वीकृति दिइसकेको छ । युक्रेनलाई अन्य देशको सहयोग कायमरहे थप युद्ध चर्किने देखिन्छ । रुससँग आफ्नो स्वतन्त्रता रक्षाका लागि लडिरहेको युक्रेनको नेतृत्वले नागरिकको साथ पाएको छ । त्योसँगै विश्वव्यापी रुपमा युक्रेनप्रति ऐक्यवद्धता जनाउने देशहरुको संख्या रुसको साथ दिने भन्दा अधिक छ । अधिकांश देशहरुले युक्रेनलाई हतियारसहितका युद्धका लागि अत्यावश्यक सामग्रीहरु प्रदान गरिरहेका छन् ।

केही देशले त कानुन नै परिवर्तन गरेर वा रुससँगको आफ्नो व्यापार सम्झौता तोडेरै पनि युद्धमा युक्रेनलाई साथ दिएका छन् । तर यता रुसले भने युक्रेनलाई हतियार र आर्थिक सहयोग गर्ने देशले नराम्रो परिणाम भोग्नु पर्ने भन्दै अमेरिका लगायतका देशलाई धम्की दिईरहेको छ । रुसको धम्किकाबीच पनि पछिल्लो समय डेनमार्क र नेदरल्याण्डले युक्रेनलाई लडाकु जहाज दिने भएका छन् । यी देशले अमेरिकी निर्माण कम्पनीका एफ–१६ लडाकु जहाज युक्रेनलाई हस्तान्तरण गर्न लागेका हुन् ।

युक्रेनी पाइलटले ती जहाज चलाउने तालिम लिएपछि हस्तान्तरण गर्न लागेको विदेशी संचार माध्यमले जनाएका छन् । तर युक्रेनले रुसको हवाई विमानको सामना गर्नसक्ने गरी एफ–१६ को प्रयोग गर्न भने अझै महिनादिन लाग्नसक्ने बताइएको छ । यी जहाजको प्रयोगले युक्रेनले आफ्नो क्षमताको पूर्ण फाइदा लिन सक्ने अमेरिकी राज्य विभागका प्रवक्ताले बताए । रुसको आक्रमणबाट आफ्नो रक्षा गर्न युक्रेनले अघिल्लो वर्षदेखि नै आफ्ना मित्र राष्ट्रसँग लडाकु विमान सहयोग गर्न आग्रह गर्दै आएको थियो । नेदरल्यान्डसँग २४ वटा एफ–१६ जहाज रहेको अनुमान गरिएको छ ।

ती जहाजको ठाउँमा नयाँ युद्ध पोत विमान ल्याउने उसको योजना छ । यस्तै, डेनमार्क पनि आफ्ना ३० वटा एफ–१६ विमानको स्तरवृद्धि गर्ने योजना बनाइरहेको छ । आणविक हतियारले सम्पन्न रुससँगको डरले अमेरिका र यसका सहयोगीले यसअघि युक्रेनलाई यी जहाज हस्तान्तरण गर्न अस्वीकार गरेका थिए । तर निरन्तरको वार्तापछि यो निर्णय भएको हो । नेदरल्यान्डका विदेशमन्त्री विप्के होइक्स्ट्राले अमेरिकाको निर्णयको स्वागत गरेका छन् । उनले युक्रेनलाई आफ्ना नागरिकको सुरक्षा गर्न निकै हदसम्म राहत पुग्ने बताएका छन् ।

यस्तै, डेनमार्कका रक्षामन्त्री ज्याकोब इलेमान जेनसोनले पनि निर्णयप्रति सहमति जनाउँदै नजिकका सहयोगी राष्ट्रसँग छलफल गरिरहेको बताए । सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको शक्तिराष्ट्र रुस र उसको सानो जननी देश युक्रेनको युद्धले विश्वभरनै अहिले असर गरिरहेको छ । रुस–युक्रेन युद्धको चपेटाले विश्वभरि महँगी बढाउनुका साथै देशहरूबीचको ध्रुर्वीकरणलाई लिएर तेस्रो विश्वयुद्धको खतराको रुपमा औल्याउन थालिएको छ । युक्रेनाई अन्य देशको सहयोग निरन्तर यही गतिमा रहने हो भने युद्ध अझै लम्विन्ने र भयानक हुने संकेत देखिएको छ ।