देश

झ्याप्प झ्याप्प बत्ति गएपछि कुलमानको खोजी, फोन गर्दा उठ्दैन, कर्मचारीको गैरजिम्मेवार जवाफ


छिनछिनमा लाइन काटिने समस्या बढ्न थालेपछि सर्लाहीबासी आक्रोशित हुन थालेका छन् । विद्युत प्राधिकरण वितरण केन्द्रले दुख दिन थालेपछि उपभोक्ताहरु प्राधिकरणको लापरबाहीपुर्ण रवैयाप्रति दिक्क छन् । पछिल्लो समय विद्युत नै निर्यात गरेर मुनाफा कमाइरहेको नेपाल विद्युत प्राधिकरणले दाबी गरिरहँदा देशका विभिन्न भुभागमा भने झ्याप्प झ्याप्प लाइन काटिने समस्या बढ्न थालेको छ । अझ प्रचण्ड गर्मीको मार खेपिरहेका सर्लाहीबासीलाई भने यो समस्याले थप पीडा दिने गरेको छ ।

यसरी छिनछिनमा बत्ती जाँदा बिजुलीबाट हुने सम्पूर्ण काममा समेत अवरोध हुने गरेको छ । यतिसम्म किलाइन नभएको बेला विकल्पको रुपमा प्रयोग गरिने इन्भर्टर समेत चार्ज गर्न समस्या भएको छ । विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरुसँग छिनछिनमा लाइन जाने समस्याको कारणबारे जानकारी लिन फोन गर्दा फोन नउठाउने र यदि उठाइहाले प्राविधिक खराबी आएको भनेर पन्छिन खोज्छन् ।

उपभोक्तायो समस्याबाट एक दिन, दुई दिन मात्रै नभइ दैनिक रुपमा हैरानी खेपिरहेका छन् । मुलुकमा लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै गएपछि यसको कारण तथा समस्या खोजी हुन थालेको छ । यता स्थानीयले भने विद्युत प्राधिकरण मंलगवाका प्रमुखमाथि नै प्रश्न उठाउन थालेका छन् ।

मनपरि ढङ्गले कर्मचारी नियुक्ति गरेकोे सेवा प्रवाहमा गम्भिर नबनेको आरोप लाग्ने गरेको छ । यता प्राधिकरण भने एउटामात्र सब स्टेसन मलंगवामा रहेको र यसले सबैतिर धान्न नसकेकोले यो समस्या आएको भन्दै अबको दुईसाताभित्र समस्या समाधान हुने बताउँछन् ।

उपभोक्तालाई जस्तो सुकै समस्या आएपनि बिजुलीको महसुल समयमै बुझाउनु पर्छ । समयमा महसुल नबुझाएको खण्डमा प्राधिकरणले उपभोक्तासँग १० देखि २५ प्रतिशतसम्म जरिवाना असुल्ने गरेका छन् । विद्युत प्राधिकरणको यो रवैयाप्रति जिल्लाभरका उपभोक्ता आक्रोशित छन् ।

अझ आम नागरिकको गुनासोमा प्रश्न गर्दा वितरण केन्द्रका हाकिम भने मैमत्ता भएर उल्टै जाइलाग्ने गरेका छन् । पत्रकारको प्रश्नबाट आक्रोशित कार्यालय प्रमुख यादवले पत्रकारलाई कार्यालय परिसर भित्र समेत प्रवेश गर्न रोक लगाइदिएपछि उनको रवैया छरप्रष्ट भएको छ ।