Breaking

त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने, ‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौँ । हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ । नकारात्मक चीजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्छ । सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ । ‘विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ,’ प्रधानमन्त्रीले भने, ‘छिट्टै विज्ञहरू र सरोकारवाला निकाय तथा कार्यालयका प्रतिनिधिहरू रहेको सानो कार्यदल बनाइन्छ ।

त्यो कार्यदललाई अध्ययनका लागि छोटो समय दिइन्छ र कार्यदलले दिएको रिपोर्टअनुसार विमानस्थलको सुरक्षा प्रबन्धमा हेरफेर ल्याउनुपर्छ । हामी छिटै एउटा निर्णयमा पुग्छौँ । छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको बताउँदै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औल्याउँदै अपराधको सञ्जाल तोड्न सरकार कठोर रूपमा उभिने बताए ।