Breaking

सिनामंगलबाट बरामद गरेको सुन गाल्न सुरू


काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको सुन गाल्न सुरू गरिएको छ ।

बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बिहानबाट सुन गाल्न सुरू गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धा विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरुको रोहबरमा सुन गाल्न सुरू गरिएको हो ।

ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले नक्सालबाट बरामद गरेको थियो । उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो । सोमबार ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले बताएका छन् ।

तस्करीको सुन बरामद भएदेखि नेकपा एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा सरकारकै सेटिङ भएको आशंका गर्दै एमालेले यसको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गरेको छ ।

सरकारले भने राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणको अनुसन्धान गर्दै आएकाले उच्चस्तरीय समिति आवश्यक नरहेको जनाउँदै आएको छ ।