काठमाडौँ — चीनले प्रति जासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्धमा थप तिक्तता बढेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ । गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग्रिएको सम्बन्धमा थप दरार सृजना भएको हो । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनको सम्बन्ध यतिबेला टकराबमा छ ।यी दुई देशवीचको सम्बन्ध चिस्याउने सबैभन्दा ठूलो कारण व्यापार युद्ध हो ।
अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध रहेको चीनसँग उसको व्यापार घाटा पनि धेरै छ । त्यति मात्रै हैन चीन र अमेरिकाको सम्बन्धमा खटपट आउनुमा ताईवानको सम्बन्ध पनि एक कारण हो । पछिल्लो समय चीन र अमेरिकावीच थप तिक्तता बढेको छ । चीनले प्रतिजासुसी अभियान अघि सारेसंगै अमेरिकाले आलोचना गरेको छ । चीनको कम्युनिष्ट सरकारले अघि सारेको नयाँ अभियानले नागरिकहरुलाई एक अर्काप्रति आशंका र जासुसी गर्न प्रोत्साहन गर्ने भन्दै विश्लेषकहरुले पनि आलोचना सुरु गरेकाछन् ।
गत जुलाई १ मा बेइजिङले आफ्नो प्रतिजासुसी कानुन संशोधन गरी त्यसलाई तत्काल कार्यान्वयन गरेपछि जासुसीलाई नै लिएर पहिलेदेखि बिग्रिएको सम्बन्धमा थप दरार पैदा भएको हो । विशेष गरी चीनमा लगानी गरेका धेरै अमेरिकी व्यवसायी नयाँ कानुनबाट आश्चर्यचकित भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनमा प्रतिजासुसी उपायहरूलाई सुदृढ तुल्याउन कार्यान्वयनमा आएको नयाँ कानुनले नागरिकहरूलाई एकअर्काको जासुसी गर्न प्रोत्साहित गरेको छ ।
यसले अमेरिकी अधिकारीहरूका साथै विदेशी कम्पनी र व्यक्तिलाई पनि समेटेकाले अमेरिकी नागरिक र उनीहरूले चीनमा सञ्चालन गरेका व्यापार–व्यवसायको सुरक्षामा पर्ने प्रभावलाई लिएर चिन्ता व्यक्त गरिएको छ। राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना हस्तान्तरण, राष्ट्रिय सुरक्षा र जासुसीको परिभाषालाई अझ फराकिलो बनाइएको संशोधित कानुनले राष्ट्रिय महत्वका कागजात, तथ्याङ्क, सूचना–सामग्रीको सुरक्षा गर्दै जासुसी सङ्गठन र तिनका सहयोगीमाथि पनि प्रतिजासुसीको प्रावधान समावेश गरेको छ ।
संशोधित उक्त कानुन कार्यान्वयन भएपछि चीनमा रहेका अमेरिकीमात्र होइन चिनियाँहरू नै आफूमाथि जासुसी भइरहेको ठानेर शंसकित छन् । संशोधित कानुनअन्तर्गत विदेशी नागरिक वा संस्थाहरूसँगको चिनियाँको साँठगाँठ, तिनले उक्साएको वा आर्थिक सहयोग उपलव्ध गराएको विदेशी वा स्वदेशी संस्था वा व्यक्तिहरूसँग मिलेर काम गरेकोमा दोषी ठहर गर्न सकिने, राज्यको गोप्य सूचना, तथा अन्य संवेदनशील विषय चोर्न, खोज्न वा प्राप्तिका लागि सङ्गठित संस्था वा व्यक्ति पनि लाग्नसक्ने भएकाले तिनमाथि पनि नजर राख्नु पर्ने व्यवस्था गरिएको छ ।
अनुसन्धानकर्ताले अब सम्बन्धित व्यक्ति र संस्थामाथि छानविन गर्न पाउनेछन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार अमेरिकी सरकारले चीनको प्रतिजासुसी पहल र त्यसपछि विकसित भएको परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन् । चीनले प्रतिजासुसी कानुन लागू गरेपछि विदेश मन्त्रालयले आफ्ना नागरिकलाई चेतावनी दिँदै मुख्यभूमि चीनको यात्रामा पुनविचार गर्न आग्रह गरेको थियो । चीनमा स्थानीय कानुनको स्वेच्छाचारी कार्यान्वयनबाट नजरबन्द र गिरफ्तारीको जोखिम हुनसक्ने जनाउँदै मन्त्रालयले सकेसम्म चीनको भ्रमण नगर्न सुझाएको छ ।
नयाँ चिनियाँ नियमले विदेशी इकाई वा विदेशी इकाईसँग साँठगाँठ गर्ने आन्तरिक व्यक्ति वा संस्थाका गतिविधि सञ्चालन गर्ने, त्यसलाई प्रोत्साहन गर्ने वा आर्थिक रुपमा सहयोग गर्नेलाई दण्डित गरिनेछ भनेको छ । नयाँ नियमअनुसार जासुसीको परिभाषाको पनि विस्तार गरिएको छ । जासुसीको नयाँ परिभाषामा राष्ट्रिय गोप्य एवम् संवेदनशील दस्तावेज, सूचना, वा जानकारीको चोरी गर्ने वा पहुँच र्पुयाउने पनि समावेश हुनेछन् । यसअनुसार अभियोजकहरुले यस्ता व्यक्ति वा संस्थाका डाटामा पहुँच र्पुयाउन सक्नेछन् ।


प्रतिक्रिया