मनोरञ्जन

“खोटाङ प्रतिभा-२०८०” छनोट प्रतियोगिता साउन २९ गत्ते राष्ट्रिय नाचघर जमलमा हुँदै


काठमाडौँ – खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके)ले आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ छनोट प्रतियोगिताको फाइनल यही साउन-२९ गते काठमाडौँमा हुँदैछ ।

कार्यक्रम राष्ट्रिय नाचघर जमलमा २९गत्ते दिउँसो १ बजे देखि सुरु हुने र प्रवेश निशुल्क हुने आयोजक खोटाङ कलाकार समाजले जनाएको छ।
खोटाङ प्रतिभा-२०८० छनोटका लागि जिल्लाको १० वटै पालिकाहरुमा गत बैशाख ५ देखि १९ गत्तेसम्म पालिका प्रतिभा छनोट कार्यक्रम भएको थियो। उक्त कार्यक्रम मार्फत प्रत्येक पालिकाबाट गायनमा एक र नृत्यमा एक गरि जम्मा २० जना नवप्रतिभा छनोट भएका छन् । छनोट प्रतियोगीहरुलाई साउन-५ गत्तेबाट काठमाडौ झिकाई प्रशिक्षण दिने काम भैरहेको आयोजक खोटाङ कलाकार समाजका कोषाध्यक्ष मनिता राइले बताउनु भयो ।

प्रतियोगीहरुलाई काठमाडौ आउन-जान तथा खान-बस्नको व्यवस्था आयोजकले नै गरेको पनि कोषाध्यक्ष राईले बताउनुभएको छ।
प्रतियोगिताको गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई,  दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली सहभागी छन् ।

यस्तै, नृत्यतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, केपिलासगढी गाउँपालिकाबाट सौलिना राई, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिसन मगर र साकेला गाउँपालिकाबाट सुजता भुजेल सहभागी छन् ।

खोटाङ प्रतिभा-२०८० छनोट प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु.२ लाख २ हजार, रु. १ लाख १ हजार र रु.५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक टिमले जनाएको छ। खोटाङ प्रतिभा-२०८० छनोट प्रतियोगिताका विजयी ६ जना प्रतिभालाई पुरस्कारसहित गीत रेकर्डिङ तथा म्यूजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने कार्यक्रममा समेत सहभागी गराइनेछ।

प्रतियोगितामा सहभागी बाँकी १४ जनालाई सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गर्ने तयारी गरिएको जनाएको छ ।
खोटाङ जिल्लामा लुकेर रहेका प्रतिभाहरु खोजि गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने साथै साङ्गितिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ् खोटाङ कलाकार समाजले स्थापना काल देखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ।