Breaking

सीआईबीको अपरेशन फोक्सट्रोट चार्ली : थप एक चिकित्सक पक्राउ


काठमाडौँ – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ पुगेको हो ।

ब्युरोले बिहीबार यसमा कांग्रेस सांसद् सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । मोरङबाट सांसद् निर्वाचित शर्माले १५ दिनअघि सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

बिहीबार सीआईबीले शर्मासहित महोत्तरीका डा। रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा। अमित चौधरी, रौतहटका डा। रामबाबु यादव र डा। एरिना शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाण पत्र बाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।

स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ६ जना पक्राउ परेका हुन् । राजधानीसहित विभिन्न जिल्लामा कार्यरत उनीहरुको खोजी जारी रहेको अधिकृतहरुले बताएका छन् ।