Breaking

पिके नामक पुस्तक विमोचन, कस्तो छ भर्जिन पिकेमा पर्यटनको सम्भावना ?


काठमाडौँ – लेखक तथा अन्वेषक हिमाल गिरीद्वारा लिखित पिके पुस्तक सार्वजनिक गरिएको छ । आइतबार राजधानीको ठमेलमा रहेको काठमाडौँ गेस्ट हाउसमा लेखक तथा सफल पर्यटन व्यवसायी कर्ण शाक्यको प्रमुख आतिथ्यमा पिके पुस्तक विमोचन गरिएको हो ।

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका १ मा अवस्थित पिके डाँडाको पर्यटकीय, धार्मिक, साँस्कृतिक र जैविक अवस्थितिबारे लेखिएको पिके नामक पुस्तक पिके हिल सोसियल अर्गनाइजेशनले प्रकाशन गरेको हो ।

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका-१ मा ४ हजार ७० मिटरको उचाईमा रहेको प्राकृतिक भ्युटावर पिके डाँड्बाट ८ हजार माथिका ६ हिमश्रृङ्खला नजिकबाट हेर्न सकिन्छ । पिकेलाई शेर्पा समुदायको रहनसहन र नजिकबाट हिमाल हेर्न चाहनेहरुको लागि महत्वपूर्ण गन्तव्य हो । पिकेलाई यस क्षेत्रमा बसोवास गर्ने शेर्पा समुदायले आफ्नो कुल देवताका रुपमा हरेक वर्षको जनैपूर्णिमाको समयमा यहाँका स्थानीय शेर्पा समुदायले यज्र्याङ अर्थात् आफ्नो कुल पुजा गर्ने गरिन्छ । पिके डाँडा पर्यटकीय हिसाबले जति महत्वपूर्ण छ धार्मिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण रहेको पाइन्छ ।

सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा सवैभन्दा उत्कृष्ट गन्तव्य हो । सोलुखुम्बुको माथिल्लो भेगमा पुग्न नसकिने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा अर्थात् लुकेको हीराको रूपमा रहेको यो क्षेत्रको समग्र पाटोलाई मिनढुंगाले विश्लेषण गरेर लेखिएको पुस्तकले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउन सकिने विश्वासका साथ पुस्तक प्रकाशन गरिएको पिके हिल सोसियल अर्गनाइजेशनका अध्यक्ष ङिमा देण्डी शेर्पाले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि कर्ण शाक्यले नेपाल सम्भावनै सम्भावना भोकेको देश भएकाले यहाँ पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकेमा जुनसुकै क्षेत्रको पनि आर्थिक, सामाजिक बाटोहरू मजबूत हुने बताउनुभयो । शाक्यले पिके पुस्तकले पिके क्षेत्रको पर्यटकीय, धार्मिक साँस्कृतिक र जैविक पक्षहरूलाई उजागर गरेको हुँदा यस पुस्तकको माध्यमबाट पिके क्षेत्रको पर्यटन प्रवद्र्धन र परिचयलाई अझ गहन रूपमा बुझ्नका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा लेखक हिमाल गिरीले सोलुखुम्बु जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूमध्ये पिके डाँडा पनि अत्यन्तै सुन्दर र साँस्कृतिक रूपले भरिपूर्ण पर्यटकीय क्षेत्र रहेकाले यस क्षेत्रको बारेमा कलम चलाउन उर्जा मिलेको बताउनुभयो । गिरीले विविध पक्षले भरिपूर्ण पिके डाँडाको बारेमा आफूले यस पुस्तकमार्फत परिचय गराउने प्रयास गरेको भन्दै पिकेको बारेमा अध्ययन-अनुसन्धान र उजागर गर्नुपर्ने कैयौं पक्षहरू रहेको बताउनुभयो ।

लेखक गिरीले पिकेको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको लागि यस पुस्तकमार्फत गोरेटोबाटो खुला गरिएको र अब राजमार्ग खुला गर्ने जिम्मेवारी सबैको रहेको बताउनुभयो । आगामी दिनमा पिके क्षेत्रको अध्ययन अनुसन्धान गर्नका लागि पुस्तक सहयोगी बन्ने विश्वास उहाँको छ ।

पिकेडाँडा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य हो । पिके पुग्नेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । त्यसैले यस क्षेत्रको विकास गर्न सकियो भने खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा अर्को आकर्षक गन्तव्य होे, जहाँ आन्तरिकका साथै बाह्य पर्यटक पनि आकर्षित हुन्छन् ।

यो क्षेत्रमा रहेको बौद्ध, गुम्बा मन्दिर पनि पर्यटक तान्न सक्ने स्थल हुन् । त्यसैगरी यो प्रदेशमा ट्रेकिङको पनि पर्याप्त सम्भावना छ । पहाडी र हिमाली क्षेत्र रहेका कारण पनि यो भूगोल ट्रेकिङका लागि अझ आकर्षण बढ्न सक्छ । यस्तै, साहसिक पर्यटनको सम्भावना पनि प्रशस्त छ । अल्ट्रा म्याराथुन, म्याराथुन जस्ता खेल यो ठाउँमा गर्न सकिन्छ ।

पर्यटन विकासको अर्को सम्भावना भनेको यस क्षेत्रमा पाइने याक तथा चौरी व्यवसायीको लागि प्रशस्त सम्भावना रहेको छ । सम्भाव्यता अध्ययन गरेर त्यसलाई अघि बढाउन सकिने सम्भावना यहाँ रहेको छ । पछिल्लो चरणमा पिके डाँडामा आन्तरिक पर्यटनले केही विकास भए पनि यसको व्यवस्थित विकास हुन नसकेको पर्यटन व्यवसायी कामी शेर्पा बताउनु हुन्छ ।

पर्यटकीय स्थलसम्म पुग्ने यातायातको सहज सुविधा नहुनु अर्को मुख्य समस्या हो । ‘यदि यो क्षेत्रको विकास गरिए लिखुपिके गाउँपालिका मात्र होइन, धार्मिक पर्यटनका लागिसमेत लिखुपिकेको शिरमा रहेको रानीडाँडा अर्थात् पिकेडाँडा प्रदेश १ को पर्यटनको आधार बन्नसक्छ’, शेर्पाले भन्नुभयो ‘पिके टे«कमार्गको निर्माण भए हजारौँ पर्यटक काठमाडौँ हुुँदै जिरीको बाटो प्रयोग गर्छन् । यहाँको आर्थिक समृद्धिमा समेत यसले सघाउ पुग्नेछ ।’

पिकेलाई प्रदेशको आर्थिक आधारका रूपमा समेत लिन सकिन्छ । पिकेडाँडाबाट लिखुपिके गाउँपालिका र सोलुखुम्बुवासीले अपेक्षाकृत लाभ लिन सकिरहेका छैनन् ।