Breaking

उत्तराखण्डको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी हुँदै


काठमाडौँ – भारत उत्तराखण्डको गौरीकुण्डनजिकै खसेको पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी कार्य अघि बढेको छ। नेपालको पत्रसँगै भारतीय दूतावासको पहलमा खोजी कार्य अघि बढेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

रोजगारीको सिलसिलामा भारतस्थित उत्तराखण्डको गौरीकुण्डनजिक पुगेका १६ नेपाली बेपत्ता भएको घटनास्थलका स्थानीयवासीलाई उदृत गर्दै परराष्ट्र मन्त्रालयले जनाएको छ।

राति बास बसेको होटल नै पहिरोले बगाएपछि जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी २ र ३ का ४ र कालीकोटका ५ सहित १६ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । बेपत्ता भएकामध्ये ११ नेपालीको पहिचान खुलेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार पातारासी–३ का २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, छोरा सात वर्षीय पृथ्वी, छोरा ६ वर्षीय जटिल र छोरा तीन वर्षीय वकिल बेपत्ता भएका छन्।

यस्तै पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र कामी र ५५ वर्षीया धनराज बुढा पनि पहिरोमा बेपत्ता भएका छन्। पातारासी–२ कै सुखराम रावत, बोम बहादुर बोहरा बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

पहिरोमा बेपत्ता भएका मध्ये तीनजनाको शव फेला परेको छ। भेटिएका मध्ये दुई नेपाली र एकजना भारतीय हुन्। फेला परेका टेकबहादुर कामीको सनाखत भएको र अर्का एकको भने पहिचान हुने नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।