काठमाडौँ — काठमाडौको मध्य भाग, मुलुकको मुटु माइतीघर मण्डला आक्रोश पोख्ने र राज्यसँग न्याय माग्ने आम सर्वसाधरणको खुला सदन हो । साना–ठुला आन्दोलन होस् या विरोध प्रर्दशन राज्यलाई घुँडा टेकाउन यो थलो प्रयोग हुँदै आएको छ । तर विरोधको विम्ब माइतीघरको स्वरुप विकल्प विहिन विरोध प्रर्दशनले कुरुप बनाउँदै लगेको छ । यो क्षेत्र पूर्णतः प्रर्दशनकारीहरुको कब्जामा छ ।
राजनीतिक समुह, पीडित परिवार, अभियन्ता, विभिन्न संघसंस्थाको दैनिक विरोध प्रर्दशन त छँदैछ शहकारी पीडित, लघुवित्त पीडितहरुले टेन्ट त्रिपाल टाँगर, अस्थायी टहरा नै बनाएर २४ घण्टा धर्नामा छन । न्याय माग्दै अनसनमा बसेकाहरु यहाँ नै खाना बनाउने खाने, लुगा धुने, राती सुत्ने गर्दै आएका छन । यी दृश्यहरुले मुलुकको मुटु माइतीघर मण्डलाको स्वरुप भने कुरुप बनाई रहेको छ ।
यहाँ लघुवित्त पीडित, शहकारी पीडितदेखि अनेक मागहरु सहित न्याय माग्ने झन्डै दर्जन बढी समुह माइतीघरमा डेरा जमाएर बसेका छन । महानगरले डस्टविन अस्थायी शौचालयको व्यवस्था गरिदिएको छ । तथापी गर्मीको मौसम, मानिसले भरिभराउ सडक र सडक वरपरको फोहोरले दुर्गन्ध फैलिन थालेको छ ।
तर न्याय माग्न माइतीघर पुगेका पीडितहरु आफ्नो माग पुरा नभएसम्म यो सडक छोड्ने पक्षमा छैन्न । विरोधको विम्ब बनेको माइतीघर मण्डलाको यो ‘विरोध स्थल’को भौतिक आयतन जति कम छ, यहाँ हुने विरोध प्रर्दशन भने वृहत र विशाल बन्दै छ । माइतीघर मण्डलाको यो सानो घेरामा हुने विरोध प्रर्दशन मुलुकभर फैलिने हुँदा पनि देशभरका नागरिकको न्याय खोज्ने थलो बन्न पुगेको हो ।
प्रतिक्रिया