Breaking

हर्कको हर्कतले जनताको हैरानी, क्रिश्चियनदेखि वृक्षारोपणसम्मै विवाद, जनता भने डेंगीको उपचार खोज्दै


काठमाडौँ — देशभरका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा बढी चर्चा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकाको हुने गर्छ । काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क सम्पाङ अभिव्यक्ति र कार्यशैलीका कारण चर्चा र विवादमा आउने गरेका छन् । धरान यतिबेला डेंगु रोगले आक्रान्त भएको छ । तर, मेयर साम्पाङ सामाजिक सञ्जालमै रमाइरहेका छन् ।

धरानका मेयर हर्क साम्पाङले आफु निर्वाचित भएलगत्तै काकाकुल धरानलाई पानी खुवाउने बाचा पुरा गर्न भन्दै हातमा कोदालो लिएर आम नागरिकसँगै श्रमदानमा निस्किए । मेयर साम्पाङको श्रमदानको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । उनको कामको सर्वत्र प्रसंशा भयो । पूर्वप्रतिवद्धता अनुसार उनले धरानमा खानेपानी ल्याइछाडे ।

तर, विस्तारै उनी बढी बोल्न थाले । हरेक व्यक्तिले शब्द चयनमा ख्याल गर्नुपर्छ । मेयर जस्तो सार्वजनिक पद धारणा गरेको व्यक्ति झनै सचेत हुनुपर्छ । तर, मेयर साम्पाङ यो मामिलामा चुके । सामाजिक सञ्जालमा मनलाग्दी लेख्ने मेयरको उपमा साम्पाङले पाएका छन् । पछिल्लो समय मेयर साम्पाङ धार्मिक विवादमा समेत मुछिन पुगे ।

अहिले धरानबासीलाई डेंगुले सताएको छ । दुई महिनाको अवधिमा धरान उप महानगरपालिकाभित्र डेंगुका कारण ७ जनाको मृत्यु भइसकेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेंगु परीक्षण गर्न आएकामध्ये ७५.९ प्रतिशतमा डेंगु पोजेटिभ देखिएको रिर्पोट सार्वजनिक गरेको छ । यो तथ्यांकले धरानमा डेंगुको अवस्था कस्तो छ भन्ने सहजै बुझन सकिन्छ ।

तर, मेयर हर्क साम्पाङले डेंगु नियन्त्रणका लागि स्थानीय सरकारको तर्फबाट प्रभावकारी कदम चाल्न सकेका छैनन् । जनताको ज्यान बचाउने मूल दायित्वबाट उनी विमुख भएका छन् । बरु, उनी सामाजिक सञ्जालमा डेंगुबाट बच्ने आदर्श छाटिरहेका छन् ।

नगरबासी डेंगुको पीडामा छट्पट्याइरहेको बेला मेयर हर्क साम्पाङ वृक्षारोपण र जनश्रमदानमै मस्त देखिन्छ । एक जिम्मेवार जनप्रतिनिधिले प्राथमिकता निर्धारण गर्न सक्नुपर्छ । सबैभन्दा ठूलो कुरा नागरिकको स्वास्थ्य हो भन्ने हेक्का हुनुपर्छ । अहिलेका स्थानीय तह अधिकार सम्पन्न छन् । स्थानीय तहले चाहने हो भने जनताले अनुभूति गर्ने गरी सार्वजनिक सेवा प्रवाह हुन सक्छ । मेयर हर्क साम्पाङले सामाजिक सञ्जालको लोकप्रियता भन्दा पनि आम सर्वसाधारणको जनजीविका र नीतिगत निर्णयमा ध्यान दिन जरूरी देखिन्छ ।