विदेश

ट्विटरको मुख्यालय राखिएको एक्स लोगो हटाइयो

योहो संवाददाता

काठमाडौँ — ट्विटरको मुख्यालयमा राखिएको एक्स चिन्ह (लोगो) हटाइएको छ । गत साता मात्रै कम्पनीले आफ्नो लोगो रिब्रान्डिङ गर्दै परिवर्तन गरेको थियो । लोगोका रूपमा पहिले निलो चरो भएको ठाउँमा कम्पनीले अंग्रेजी अक्षर एक्स राखेको हो । यसैक्रममा कम्पनीले आफ्नो मुख्यालयको छतमा चम्किलो फ्ल्यासिङ सहितको एक्स लेखिएको होडिङ बोर्ड राखेको थियो । बेलायती समाचार वेबसाइट द टेलिग्राफका अनुसार उक्त लोगोमाथि धेरैको गुनासो आएपछि लोगो हटाइएको हो ।

रिपोर्टका अनुसार लोगो राखिएको छोटो समयमै मुख्यालय वरपरका छिमेकहरूबाट दुई दर्जन बढी गुनासो परेपछि मंगलबार हटाइएको हो । लोगो गत शुक्रबार मात्रै राखिएको थियो । नयाँ लोगो रातको समय निकै चहकिलो रहेकोदेखि अनधिकृत ढंगमा राखिएको, सुरक्षाको हिसाबमा जोखिमपूर्ण रहेको भन्दै गुनासो परेको हो ।