मनोरञ्जन

मिङमा शेर्पाको ‘तिमीलाई देखेपछि’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ – “तिमीलाई देखेपछि” म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।

सोनु लामाको शब्द संगीत तथा उर्गेन दोङको एरेन्जमा रहेको गीतमा मिङमा शेर्पाले स्वर दिएका छन् । भिडियोको निर्देशन तथा सम्पादन मिङमा शेर्पाले नै गरेका हुन् ।

अहिलेका युवा-युवतीको रोमान्टिक प्रेमकथा प्रस्तुत गर्न खोजिएको म्युजिक भिडियोमा मिङमा शेर्पा र फुली शेर्पाको अभिनय देख्न सकिन्छ । अन्य कलाकारहरू आङ छेलिङ शेर्पा, छोटी शेर्पा र निलीमा सुब्बाले अभिनय गरेका छन् । कार्यक्रममा गायक तथा निर्देशक मिङमा शेर्पाले म्युजिक भिडियोलाई दर्शकले रूचाउनेमा विश्वस्त रहेको बताउनुभयो ।

को मिङमा शेर्पा ?

मिङमा शेर्पा सोलुखुम्बुस्थित सोताङ गाँउपालिकाको सुन्दर गाउँ चेपेलमा जन्मेका हुन् । उनी शेर्पा समुदायको कुशल निर्देशकका रूपमा स्थापित छन् ।

शेर्पा समुदाय विभिन्न पेशामा आबद्ध भए पनि निर्देशन क्षेत्रमा भने कमै देख्न सकिन्छ । उनले यो अभाव पूरा गर्ने विश्वास लिएका छन् । उनी भन्छन्, ‘यस क्षेत्रमा लाग्न चाहनेहरूका लागि म एक सहयात्री मात्र हुँ ।’

उनले विभिन्न विधाका एक दर्जनभन्दा बढी म्युजिक भिडियो र सर्ट मुभी निर्देशन गरिसकेका छन् । उनी हिमाल आरोही पनि हुन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण हिमाल र पाकिस्तान अवस्थित केटू हिमालकोसमेत सफल आरोहण गरिसकेका छन् ।

निर्देशन पेशा अँगालेर शेर्पा र गैरशेर्पा समुदायका युवालाई यो क्षेत्रमा अघि बढाउने उद्देश्य लिएको उनी बताउँछन् । ‘निर्देशन क्षेत्र भिडियोमा हेर्न जति सजिलो छ, काम गर्न त्यति नै गाह्रो छ’ उनी स्मरण गर्छन ‘हिजोको दिनमा यो क्षेत्रमा लाग्नका लागि निकै गाह्रो थियो, आज आएर समुदायसँगै काम गर्न पाउँदा केही सहज महशुस भएको छ, केही गर्न सक्छु भने हौसला मिलेको छ ।’

आफूलाई अब्बल सावित गर्ने परीक्षामा रहेको उनी बताउँछन् । आफ्नै गाउँमा गएर आफ्नै ठाउँमा हेरेर म्युजिक भिडियो निर्माण गर्न पाउँदा निकै खुशी भएको उनी बताउँछन् । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, साँच्चै सुन्दरतालाई काममार्फत देखाउन पाउँदा खुशी छु’, उनी भन्छन्, ‘म मेरो भविष्य उज्ज्वल बनाउने मात्र हैन, मैले गर्ने कार्यले समाज परिवर्तनको दिशामा अघि बढोस् भन्ने चाहन्छु ।’ आफ्नो प्रयासमा सबैको साथ पाउने उनको अपेक्षा छ ।