Breaking

सांसद प्रभु साहलाई कारबाहीको माग गर्दै रौतहटमा प्रदर्शन


काठमाडौँ — सांसद प्रभु साहलाई कारबाहीको माग गर्दै रौतहटमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्त रुपमा सोमबार जुलुस प्रदर्शन गर्दै प्रभु साहलाई कारबाहीको माग गरेका हुन् । प्रदर्शनकारीले गौर हत्याकाण्डको मुख्य दोषी साह भएको जिकिर गर्दै कारबाहीको माग गरेका हुन् ।

त्यस्तै २३ असार २०६८ मो कुस्ती खेलाडी उपेन्द्रदास बैरागीको हत्या, रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्यामा पनि प्रभु साहको संलग्नता रहेको ६ दलीय मोर्चाको जिकिर छ । यसअघि १ साउनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले गौर घटनाका दोषी भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई कारबाहीको माग गरेको थियो ।

६ दलले साहलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् । २०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुँदा माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाएका थिए । गौर घटना भएको १७ वर्षसम्म पनि दोषीलाई कारवाही नभएको भन्दै आम जनता पार्टीले १ साउनमा प्रर्दशन गरेपछि सोमबार ६ दलले संयुक्त रुपमा साहको विरुद्धमा गौरमा प्रर्दशन गरेका हो ।