अर्थनीति

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छ : अर्थमन्त्री महत


काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् ।

उनले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलोपनलाई सम्बोधन गरिएको बताए । महतले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए ।

उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए । उनले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत गरे । महतले सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए ।