विदेश

युरोप महादेशमा भीषण गर्मी, इतिहासमै पहिलोपटक मौसमको नयाँ रेकड

योहो संवाददाता

काठमाडौँ — युरोप महादेश अहिले भीषण गर्मीको मारमा परेको छ । सन् २०२२ को सुरुवातसँगै युरोपका विभिन्न स्थानमा वर्षा तथा हिमपातमा आएको भारी कटौतीले वायुमण्डलमा जलवाष्पको मात्रामा कमी आइ सुक्खा मौसमी गतिविधि देखापरेको छ । अत्याधिक गर्मीका कारण युरोपको जनजीवन कष्टकर बनेको छ । ग्रिष्मयाममा त्यहाँको वायुमण्डलीय तापमानमा अस्वाभाविक वृद्धिले भीषण गर्मी हुनुका साथै खडेरीले जनजीवन आक्रान्त बनेको छ । युरोप महादेश ठन्डी र शीतल मौसमी गतिविधिका लागि प्रख्यात छ र त्यहाँ सूर्यको तापिलो राप र न्यानो न्यानो मौसमका लागि मानिस प्रतीक्षारत हुने गर्थे ।

तर यस वर्षको मौसमी गतिविधिले त्यहाँको जनजीवन अस्वाभाविक रूपले प्रभावित भएको छ । त्यहाँका विभिन्न मुलुक इतिहासमै पहिलोपटक मौसमका नयाँ रेकर्ड कायम गर्न सफल भएको त्यहाँका मौसम विभागले जनाएका छन् । इटालीमा इतिहासकै सबभन्दा बढी तापमान मापन भएको छ । सन् २०२१ अगस्टमा त्यहाँ ४८.८ डिग्री सेल्सियस मापन गरेकामा यस वर्ष ४९.९ डिग्री सेल्सियस पुगी नयाँ रेकर्ड कायम भएको छ ।

त्यस्तै स्पेन, पोर्चुगल र फ्रान्सका विभिन्न स्थानमा वायुमण्डलीय तापमान ४९ डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । यसले त्यस क्षेत्रका विभिन्न स्थानमा तातो हावाको लहर अर्थात ‘लु’ चल्नाले जीवन आक्रान्त बनेको छ भने जंगलमा पटक–पटक आगो लागेको छ । अत्यधिक गर्मीकै कारण युरोपका विभिन्न स्थानमा सयौँ मानिसको ज्यान गएको छ । गर्मीले युरोपको विभिन्न स्थानमा खानेपानीको समस्या देख्न थालेको र कृषि जगत्मा पानीको ठूलो संकटले खेत सुक्न गई उब्जनीमा ह्रास आउन थालेको छ । मौसमी विश्लेषणअनुसार युरोपमा यस्तो मौसमी गतिविधि सन् १५४० पछिको भयाबह स्थितिमा भएको बताइएको छ ।

जलवायुविद्हरू युरोपमा यस्तो भीषण गर्मी र सुक्खा मौसमी गतिविधि देखा पर्नुमा पृथ्वीमा इन्धनको अधिक मात्रामा प्रयोगको परिणामस्वरूप कार्वन उत्सर्जनको साथै अन्य हरित गृह ग्यास अत्यधिक मात्रामा वृद्धिले पृथ्वीको वायुमण्डलीय तापमान बढ्न थालेको वैज्ञानिकहरूको ठहर छ । जुन पृथ्वीको पर्यावरण तथा सम्पूर्ण प्राणीका लागि खतराजनक छ । वैज्ञानिकहरूको अध्ययन अनुसार पृथ्वीमा मानव जातिको सृष्टि र विकाससँगै १८औँ शताब्दीतिर भएको औद्योगिक क्रान्तिपश्चात यसरी हरित गृह ग्यासको उत्सर्जनमा अत्यधिक वृद्धि भएको हो ।

यही कारण वैज्ञानिकहरू पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिअगाडिको भन्दा १.५ डिग्री सेल्सियसले नबढ्ने गरी नियन्त्रणमा राख्ने पेरिस सम्मेलनमा विश्वव्यापी सहमति भएको बताउँछन् यसो भए पनि पृथ्वीको औसत तापमान निरन्तररूपमा उकालो लागेको छ र यो सन् २०३० अगाडि नै १.५ डिग्री सेल्सियस नाघ्न सक्ने सम्भावना रहेको अमेरिकास्थित जलवायुसम्बन्धी अध्ययन संस्था नासाका वैज्ञानिक बताउँछन् । विश्वव्यापी रूपमा वायुमण्डलीय तापमान वृद्धि उकालो लाग्दै गरेमा जलवायु परिवर्तनकै कारण सन् २०५० सम्ममा युरोपको अधिकांश भागमा ४० डिग्री सेल्सियसभन्दा बढी तापमान हुन गई अत्यधिक गर्मीले जनजीवन कष्टकर हुने देखिन्छ ।