विदेश

अनुमतिबिना प्रवेश गर्ने अमेरिकी सैनिक उत्तर कोरियाको नियन्त्रणमा, जासुसीको आरोप !


काठमाडौँ — दक्षिण कोरियाको सीमाबाट अनुमतिबिना आफ्नो क्षेत्रमा प्रवेश गर्ने एक अमेरिकी सैनिकलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ । दुई देशलाई विभाजन रेखा हेर्न पुगेका ती सैनिक उत्तर कोरिया प्रवेश गरेको बताइएको छ । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाको सम्बन्धमा संधै तनाव हुन्छ । युद्धनै लड्ने शक्तीको दम्ब देखाउने उत्तर कोरिया र अमेरिकावीच फेरि तनाव हुने संकेत देखिएको छ । पछिल्लो समय उत्तर कोरियाले एक अमेरिकी सैनिकलाई बिना अनुमति आफ्नो सीमा क्षेत्रमा प्रवेश गरेको आरोपमा गिरफ्तार गरेको छ ।

दक्षिण कोरियाली भूमिबाट उनी उत्तर कोरियाको सीमा भित्र प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ती सैनिक राष्ट्रसंघले सञ्चालन गर्दै आएको उत्तर र दक्षिण कोरियाबीचको असैन्यीकृत क्षेत्रको भ्रमणमा रहेका बेला सीमा रेखा पार गर्दै अनधिकृत रुपमा उत्तर कोरियातर्फ छिरेको थियो । उत्तरले नियन्त्रणमा लिएका सैनिकको नाम ट्रयाभिस किंग रहेको र उनीमाथि केही समयदेखि अनुशासन सम्बन्धी कारबाही चलिरहेको छ । उत्तर कोरियातर्फ छिर्दै गर्दा किंग गैरसैनिक नागरिकका रुपमा संयुक्त सुरक्षा क्षेत्रको भ्रमणमा रहेको जनाइएको छ ।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका प्रवक्ताले किंगले जानाजान र बिना अनुमति सीमा पार गरी अर्कोतर्फ प्रवेश गरेको बताएका छन् । ती अमेरिकी सैनिक देश त्याग गर्ने उद्देश्यका साथ उत्तर कोरिया छिरेका हुन् वा स्वदेश नै फर्किने आशमा छन् भन्ने अझै स्पष्ट नभएको र यस सम्बन्धमा उत्तर कोरियाकातर्फबाट कुनै बयान आएको छैन । जो बाइडेन प्रशासनका लागि उत्तर कोरिया त्यति धेरै कुटनीतिक प्राथमिकतामा नरहे पनि पछिल्ला केही महिना यता बढ्दै गएको तनाव र सैनिक गिरफ्तारीको ताजा घटनाले दुई देशबीचको सम्बन्ध संकटपूर्ण अवस्थामा प्रवेश गर्न सक्ने केही विश्लेषकको भनाइ छ ।

अमेरिकी सैनिकलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै उत्तर कोरियाले दुई वटा शंकास्पद ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । अमेरिका र उत्तर कोरियाबीच कुटनीतिक सम्बन्ध छैन भने आफ्नो देशमा आएका अमेरिकी नागरिकलाई उत्तरले समय समयमा जासुसीको आरोपमा नियन्त्रणमा लिने गरेको छ । सन् १९९६ यता यस्ता धेरै पर्यटक, विद्वान र पत्रकारलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ ।

सन् २०१७ मा अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक सन् २०१७ मा उत्तर कोरियाका एक सैनिकले गाडी चलाएर आएका थिए र सैन्य सीमा रेखा पार गरेर पैदलै भागेका थिए । ती सैनिकलाई ४० पटक गोली लागेको थियो तर उनी बाँच्न सफल भएका थिए । दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार महामारीअघि हरेक वर्ष उत्तर कोरियाबाट एक हजारभन्दा बढी मानिस भागेर चीन गएका थिए ।

पछिल्लो समयको घटनाले अमेरिकी राष्ट्रपति जो बाइडनका लागि कूटनीतिक टाउको दुखाइको विषय बनेको छ । पीटीई किङ उत्तर कोरियाको हिरासतमा रहेका एक मात्र अमेरिकी नागरिक भएको बताइएको छ । त्यहाँ छ जना दक्षिण कोरियाली नागरिक थुनामा छन् ।