Breaking

राष्ट्रपति पाउने भएकाले प्रचण्डलाई विश्वासको मत दिएको होः खड्का


काठमाडौँ — नेपाली काँग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत नेपाली काँग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् । मंगलबार शुरु भएको पार्टीको केन्द्रीय कार्य समिति बैठकमा उपप्रधानमन्त्री खड्काले नेपाली काँग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिइएको बताए ।

एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डलाई प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि विश्वासको मत दिएको थियो। विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उनले सो कुरा बताएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति नेपाली काँग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे। काँग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले काँग्रेस सरकारमा पुगेको उल्लेख गरे । उनले भने‚ ‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ ।

त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो । विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली काँग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा । हाम्रो सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्ता भएको थियो ।

त्यही विश्वासको आधारमा हामीले विश्वासको मत दियौँ। त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरणस्वरुप रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा निर्वाचित गर्‍यौं ।

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्नेमा जोड दिए । उनले जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको बताए ।