देश

१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ


काठमाडौँ — सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ पनि गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायका अनुसार पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् ।

घटना शुक्रबार मध्य रातिको हो । डिएसपी रायका अनुसार उनीहरुले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको स्वीकारेका छन् । आइतबार परिवारले किटानी जाहेरी दिएको आधारमा सोमबार तीनजना र आज मंगलबार एकजना गरी चारैजनालाई नियन्त्रणमा लिएको डिएसपी रायले जानकारी दिए ।