Breaking

अदालतमा लिखित जवाफ पेश गर्दै अध्यक्ष शेर्पा

'विकास र परिर्वतन देख्न नसक्नेले अनावश्यक मुद्दा हाले'


काठमाडौँ – खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरूद्धको रिटको आज लिखित जवाफ पेश गर्ने भएका छन् ।
अध्यक्ष शेर्पाले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा रिटको जवाफ दर्ता गर्ने तयारी रहेको शेर्पाका कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता हर्कबहादुर राईले जानकारी दिए । अमेरिकी नागरिकको हैसियतमा नै स्थानीय तहको निर्वाचनमा भाग लिएको भन्दै प्रतिस्पर्धी भूपेन्द्र वस्नेतले अध्यक्ष शेर्पाविरूद्ध रिट दर्ता गरेका थिए ।

रिटको सम्बन्धमा उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको थियो । अध्यक्ष शेर्पाले असार २१ गते म्याद बुझेको र मगलबार लिखित जवाफ पेश गर्न लागेको बताए ।

अध्यक्ष शेर्पाले आफू विरूद्धको आरोप झुठो रहेको दाबी गर्दै आएका छन् । शेर्पाले सबै प्रकृया पूरा गरेर नागरिकता पुनः प्राप्ती गरेको बताएका छन् । उनले आफुले अमेरिकी नागरिकता त्यागेको र सोको निस्सा पेश गरेरै नागरिकता लिएको र स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेको दाबी गरेका छन् ।

गाउँपालिकामा विकास र परिर्वतनको लागि राम्रो काम गरेको देख्न नसकेर विपक्षले अनावश्यक मुद्दा बनाएको शेर्पाको आरोप छ । गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट शेर्पा २ हजार ८ सय ८२ मतका साथ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुपेन्द्र बस्नेतले २ हजार ७ सय ५२ मत ल्याएका थिए । उनै बस्नेतले अदालतमा मुद्धा हालेका हुन् ।