Breaking

देउवा हटाएर प्रधानमन्त्री बन्ने गगनको सपना, विश्व र प्रदीपको भरमा कति सम्भव ?


काठमाडौँ — नेपाली राजनीतिक वृत्तमा पुस्तान्तरणको चर्चा नौलो होइन । प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेमा पुस्तान्तरणको विषय जोडतोडले उठ्दै आएको छ । पुस्तान्तरणकै अभ्यासस्वरुप एमालेले ७० वर्षे उमेरहद पनि लागू ग¥यो । तर, अहिले एमालेले उमेरहद हटाउने निर्णय गरिसकेको छ । कांग्रेसमा भने पुस्तान्तरणको विषय चुलिएको छ । कांग्रेसको गत महाधिवेशनमै पुस्तान्तरणको विषय प्रमुखको साथ उठेको थियो ।

मूल नेतृत्वमा पुस्तान्तरण हुन नसके पनि महामन्त्रीसहित पदाधिकारीमा युवा पुस्ताको प्रतिनिधित्व भयो । महामन्त्री गगन थापाले देशको नेतृत्व नै युवाले गर्ने भन्दै संसदीय दलको नेतामा उम्मेदवारी दिए । पाका सभापति देउवासँग युवा महामन्त्री थापा भारी मतान्तरले पराजित भए । तर पनि थापाले नेतृत्वमा पुस्तान्तरणको आफ्नो अभियान छाडेका छैनन् ।

संस्थापनइतर समूहले नेतृत्वमा पुस्तान्तरणको विषय चर्को रुपमा उठाइरहँदा संस्थापन पक्ष भने त्यसमा सहमत छैन । ७० वर्षे उमेरहदबाट ब्याक हुने एमालेको निर्णयले कांग्रेसमा पनि प्रभाव पारेको छ । राजनीतिमा पुस्तान्तरण भन्ने शब्द नै नहुने तर्क सभापति देउवानिकट नेताहरूको छ । थापाले आम निर्वाचनमै देशको प्रधानमन्त्री बन्ने भन्दै जनतासँग भोट मागेका थिए । संसदीय दलको नेता फेरेर प्रधानमन्त्री बन्ने कोसिस थापाले छाडेका छैनन् । त्यो त, देउवालाई हटाएर संसदीय दलको नेता बन्न थापाका लागि अंगगणितले सजिलो छैन ।

कांग्रेसको संसदीय दलको विधान अनुसार, २५ प्रतिशत प्रतिनिधि सभाका सदस्यले संसदीय दलको नेता माथि अविश्वासको प्रस्ताव राख्न सक्छन । २२ सांसदले अविश्वासको प्रस्ताव ल्याएमा संसदीय दलको नेताको निर्वाचन हुन सक्छ । तर, संसदीय दलको नेता हुन ५० प्रतिशत कटाउनुपर्छ अर्थात ८८ सदस्यीय संसदीय दलमा दलको नेता हुन ४५ मत ल्याउनुपर्छ । सानो आँट, हिम्मत र तयारीले पुस्तान्तरणको विषय सहजै सम्बोधन हुने देखिन्न । यदि, कांग्रेस पुस्तान्तरणमा गयो भने एमालेसहितका अन्य दललाई समेत नैतिक दबाब पर्नेछ ।