Breaking

कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दै


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा तय गर्न बैठक बोलाइएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्दै छ । यसअघि असार २७ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि साउन २ गतेका लागि सारिएको थियो ।

केन्द्रीय समितिको बैठकका अजेन्डा तय गर्न पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक सोमबार दिउँसो २ बजे, पार्टी सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने जनाइएको छ ।

पार्टीको संस्थापन (सभापति देउवा) इतर समूहले पार्टी नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको निलम्बनको विषय उठाउने तयारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई कांग्रेसले निलम्बन गरेको छैन ।